हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–११, थरहरीमा एक जना पुरुष मृत फेला परेको छन् । मृत फेला पर्नेमा ६२ वर्षीय गोकर्ण खपाङ्गी मगर रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो १ बजेर १५ मिनेटको समयमा मगर सर्पखोलाको किनारामा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, नारायणी नदीमा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्जुङ जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–१७, भुषालचोकमा डेरा गरी बस्ने १९ वर्षीय दीपक परियार रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २ बजेर ३० मिनेटको समयमा परियार पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा फेला परेका थिए । परियारलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–४, लामाटोलमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धाराटोल बस्ने ६० वर्षीय केदार नरसिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार तामाङ निर्माणाधिन गुम्बा हेर्न गएकोमा गुम्बाको बाँसको भर्याङबाट माथि चढ्ने क्रममा भर्याङबाट चिप्लियर लड्दा घटनास्थलमै मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८, बिर्तामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चालक रोशी गाउँपालिका–९ का २५ वर्षीय सुमन कुमार लामा रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बेलुका ७ बजेको समयमा देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोबाट मध्यपहाडी लोकमार्ग निस्कँदै गरेको बागमती प्रदेश ०२–०३० प ३२६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा सुमन र पछाडी सवार तेमाल गाउँपालिका–५ का ४० बर्षीय सरोज लामा घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा सुमनको राती १० बजे मृत्यु भएको र सरोजको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।