उमाकुण्ड गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लाुग भएको घोषणापछि सामूहिक तस्वीर खिचाउँदै पालिकाका पदाधिकारी र कार्यक्रमका अतिथिहरु ।

हेटौँडाः रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको छ । मंगलबार एक कार्यक्रमबीच गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु आएको पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाले यसअघि पालिकाका ७ वटा वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेकोमा मंगलबार गाउँपालिका नै घोषणा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो । उमाकुण्ड गाउँपालिका जिल्लाको पहिलो अनिवार्य तथा निःशुल्क शिक्षाको रुपमा घोषित भएको हो । पालिकाले विद्यालय बाहिरका ४० जना विद्यार्थीमध्ये ३९ जना विद्यार्थीलाई विद्यालय ल्याउन सफल भएको छ । एकजना भन्ने शारीरिक अशक्त भएका कारण चुनौती भएको उहाँले प्रष्ट पार्नुभयो । गाउँपालिकाले जन्मदर्ता नभएका विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न सहयोग गरेको उहाँले बताउनुभयो ।

अनिवार्य तथा निःशुल्क घोषणा भएपछि पनि अनुगमनलाई निरन्तरता दिने लामाले बताउनुभयो । गाउँपालिकाले विद्यालयलाई विभिन्न कार्यक्रम तथा खेलकुदमा सहयोग गर्ने गरेको छ । गाउँपालिका अध्यक्ष लामाका अनुसार शिक्षकलाई अनुदान दिएर दरबन्दीमा राख्ने काम पनि गाउँपालिकाले गरेको छ । यस्तै, पालिकाले ७ वटा माध्यमिक विद्यालयमा कम्प्युुटर शिक्षा सुरु गरेको छ भने वडा नम्बर १ मा छात्रावास निर्माणलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्य रहेको थियो । गाउँँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको सभाध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकामा ४२ वटा विद्यालय छन्, जसमा ३ हजार ५ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् ।