हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा विद्यालयका विभिन्न इकाईमा विद्यार्थी नेता छनोटका लागि निर्वाचन भइरहेको छ । विद्यालय क्याप्टेन र भाइस–क्याप्टेनसहित विभिन्न सदन र क्लबका क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ भने दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका करिब एक हजार विद्यार्थीले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत उमेश अर्यालले जानकारी दिनुभएको छ । निर्वाचनमा कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । विद्यालयका विविध क्रियाकलापमा विद्यार्थीको सहभागिता सुनिश्चित गर्न तथा विद्यार्थीमा नेतृत्व विकास, प्रजातान्त्रिक अभ्यासको विषयमा अवगत गराउने उद्देश्यले बालजागृतिले २०७४ सालदेखि निर्वाचनको अभ्यास गराउँदै आएको छ ।
निर्वाचनबाट १८ जना विद्यार्थी प्रतिनिधि छनोट गरिनेछ । विद्यार्थी निर्वाचन कार्यक्रममा शिक्षकहरुले सहजीकरण गरेका छन् भने विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी र अभिभावकले निर्वाचन कार्यक्रमको पर्यवेक्षण तथा अवलोकन गर्नेछन् ।