Home मुख्य समाचार संघीय सांसद बर्तौला र नगरप्रमुख लामाबीच वाक युद्ध

संघीय सांसद बर्तौला र नगरप्रमुख लामाबीच वाक युद्ध

कार्यक्रममा बोल्नुहुँदै संघीय सांसद महेश कुमार बर्तौला

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरको समिक्षा कार्यक्रममा संघीय सांसद महेश कुमार बर्तौला र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाबीच वाक युद्ध भएको छ ।

बिहिबार हेटौँडामा आयोजित समिक्षा कार्यक्रममा नगर प्रमुख लामाले सांसदहरु सरकार बनाउने र गिराउने खेलमा सक्रिय भएको आरोप लगाउनुभयो । उहाँले सांसदहरु सरकार निर्माण र मन्त्री बन्ने कसरतमा व्यस्त हुँदा स्थानीय तह तथा नागरिकको समस्या ओझेलमा परेको बताउनुभयो । उहाँले सरकार निर्माणको खेलले नागरिकका समस्या, संघीय व्यवस्था, संविधान कार्यान्वयन र कानुन निर्माणसमेत प्रभावित भएको टिप्पणी गर्नुभयो । संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय तहका लागि खासै सम्बोधन हुन नसकेको उहाँले गुनासो गर्नुभयो । हेटौँडाको सवालमा २५ मिटर सडक विस्तार, विकास निर्माणका योजना संघीय सरकारको बजेटमा समावेश हुन नसकेको उहाँको भनाई थियो ।

त्यस लगत्तै कार्यक्रमलाई सम्बोधन गर्नुभएका सांसद बर्तौलाले संघीय सरकार निर्माणको काम स्थानीय तहको नभएकाले सो विषयमा टिकाटिप्पणी गर्न उचित नरहेको बताउनुभयो । सरकार निर्माणको काम सांसदहरुको भएको र वर्तमान निर्वाचन प्रणाली अनुसार स्थिर सरकार कायम हुन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्तमान निर्वाचन प्रणालीका कारण डेढ बर्षमा नै प्रधानमन्त्रीले चार पटक संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यता रहेको हो । उहाँले संविधानले निर्धारण गरेको अधिकार क्षेत्रमा रहेर काम गर्नुपर्ने बताउनुभयो । स्टण्ट छाडेर नागरिकको सेवा विकास निर्माणका काम र क्षेत्राधिकार अनुसारको कानुन निर्माणमा स्थानीय तहले जोड दिनुपर्ने उहाँको भनाई थियो ।

Exit mobile version