Home मुख्य समाचार कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन

कार्यकारी निर्देशकका लागि ६ जनाको आवेदन

हेटौंडाः प्रदेश सरकारले गठन गर्ने सीटीईभीटीका लागि कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाइएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले आवेदन माग गरेकोमा ६ जनाले निवेदन पेश गरेका हुन् ।

गत जेठ १७ गते सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि ७ दिनभित्र आवेदन पेश गर्न भनिएको थियो । मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को ऐन २०७५ र नियमावली २०८० बमोजिम प्रमुख कार्यकारी निर्देशकको नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको ७ दिन जेठ २३ गतेभित्र कार्यालय समयमा कागजातसहित निवेदन पेश गर्न सूचना गरेको थियो । सो अवधिमा मन्त्रालयमा ६ जनाको आवेदन प्राप्त भएको महाशाखा प्रमुख खुबीराम अधिकारीले बताउनुभयो ।

कार्यकारी निर्देशकका लागि ३५ वर्षदेखि ५५ वर्षसम्मका प्रदेशमा स्थायी बसोबास गर्ने व्यक्तिले निवदेन, व्यक्तिगत विवरण, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को नियमावली २०८० को अनुसूची १ को ३ बमोजिम बढीमा ३ हजार शब्दको कार्ययोजना, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्रदेशभित्र स्थायी बसोबास भएको प्रमाणित कागजात, मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, अर्थशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि विज्ञान र सूचना प्रविधिमध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न भनिएको थियो । त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा ५ वर्षको कार्यअनुभव भएको र कुनै कानुनले अयोग्य नठहरिएको पत्र पेश गर्न भनिएको थियो ।

उक्त सूचना जारी भएको ६ दिनसम्म पनि कुनै निवेदन परेको थिएन । बुधबार एकै दिन ६ जनाको आवेदन प्राप्त भएको उहाँको भनाई छ । मन्त्रालयका महाशाखा प्रमुख अधिकारीका अनुसार प्राप्त आवेदनलाई प्रक्रियागतरुपमा अघि बढाएर टुंग्याइनेछ । प्राप्त आवेदनलाई मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिको निर्णयअनुसार अघि बढाइने उहाँको भनाइ छ ।

Exit mobile version