हेटौंडाः बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजित वजेट माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यतालिका रहेको छ । विनियोजन वजेट र आर्थिक विषयहरुमा आइतबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकले विनियोजित वजेट सभामा छलफलको लागि पेश गर्ने निर्णय गरेको बागमती प्रदेश सभाका सचिव कृष्ण हरी खड्काले बताउनुभयो ।

प्रदेश सभा बैठकमा भोलि मंगलबारदेखि विनियोजित वजेट माथि छलफल हुने बताइएको छ । असार १ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत भएको थियो । सो बजेटमा असार २ र ३ गते छलफल गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । ११ दिनपछि आज प्रदेश सभाको बैठक बस्दै छ । प्रदेश सभामा अबको छलफलपछि आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरिने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।