बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउने भएको छ । शुक्रबार हेटौंडामा सभामुख भुवनकुमार पाठकको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा यस्तो निर्णय भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा जेठ १ मा प्रि–बजेट छलफल गर्ने, १५ गते नीति तथा कार्यक्रम पेस गर्ने र असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेण्डर बनाउन पनि दलहरुबीच सहमति जुटेको जानकारी दिनुभयो । विगतमा भएको बजेटमाथिको कमजोरी सुधार गरेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरु सहमत भएको उहाँको भनाइ छ ।

सर्वदलीय बैठकले प्रदेशसभाका पाँच संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरु सदस्य रहेको कार्यदललाई सहमति जुटाउन अनुमति दिने निर्णय पनि गरेको छ । कार्यदलले जेठ ४ सम्म समिति सभापतिका लागि सहमति जुटाउन नसके निर्वाचन प्रक्रिया अघि बढाउनेबारे दलहरुबीच सहमति भएको हो ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले मुख्य पाँच दललाई एक–एक समिति सभापति दिने गरी प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ । उक्त प्रस्तावमा सहमति जुटे हाम्रो नेपाली पार्टी र नेमकिपाले समिति सभापति नपाउने देखिएको छ ।