प्रताप विष्टलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ।

हेटौँडाः नेपाल पत्रकार महासंघले मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टलाई “प्रेस स्वतन्त्रता सेनानी” को रुपमा सम्मान गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको २७औं महाधिवेशनको अवसरमा विष्टलाई सम्मान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले दोसल्ला ओढाएर विष्टलाई सम्मानपत्र प्रदान गर्नुभएको छ ।

नेपालमा स्वतन्त्र प्रेसको विकास र रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै, नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विष्टलाई प्रेस स्वतन्त्रता सेनानीको रुपमा सम्मान गरिएको महासंघले जनाएको छ । ४ दशकदेखि पत्रकारितामा क्रियाशील विष्ट कान्तिपुर दैनिकमा आवद्ध हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षको रुपमा दुई कार्यकाल नेतृत्व गर्नुभएका विष्ट बागमती प्रदेश समितिको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । विष्टले नेपाल पत्रकार महासंघको केन्द्रीय समिति सदस्यको रुपमा २ कार्यकाल काम गर्नुभएको छ ।