सांकेतिक तस्विर ।

हेटौंडाः बकैया गाउँपालिकामामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी बिना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको हो । राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै आज सप्तरीमा चट्याङ् लागेर चार जनाको ज्यान गएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।