कोरोनाको महामारीकै बीच हेटौंडा उपमहानगरकाको केही ग्रामीण क्षेत्रमा रहेका विद्यालयले पठनपाठन सुचारु गर्न थालेका छन् । हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालय र हेटौंडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयले भौतिक दुरी कायम गरी पठनपाठन सुचारु गरेका छन् । आनन्द भैरवले कक्षा–७ र ८ को पठनपाठन सुरु गरेको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा पनि यी दुई विद्यालयहरुले पढाई सुरु गरेर ठूला विद्यालयहरुका लागि चुनौती र नमूना पेश गरेका छन् । विश्वज्योति आधारभूत विद्यालयले एउटा कक्षा सातामा दुईदिन सञ्चालन गर्ने गरी तालिका बनाएको छ । कोरोना भाइरसको महामारी फैलँदै गएको अवस्थामा पनि कक्षा सन्चालन गर्नु चुनौती छ । बालबालिकाको सुरक्षाका विषयमा सम्बन्धित पक्ष सजग भएको हुनु पर्दछ ।

कक्षा सञ्चालन गर्नु अभिभावक र विद्यार्थीका लागि उपयुक्त कदम हो तर जोखिमलाई सामान्य ठान्नु हुँदैन । सजिलै कक्षाहरु सञ्चालन गर्न सकिने भए विश्वभरका महाविद्यालय समेत किन बन्द हुने थिए भन्ने कुरालाई पनि ध्यान दिन आवश्यक छ । हुन त विद्यालय एक्लैले यो निर्णय गरेका पक्कै होइन । स्थानीय तहका जनप्रतिनिधि र अभिभावकको अनुमति र समन्वय नभई विद्यालयहरुले मात्र जोखिम उठाएनन् होला । लकडाउन खुकुलो बनाउँदै जाने योजनाअन्तर्गत सरकारले शिक्षालाई सबै भन्दा अन्तिममा मात्र सुचारु गर्ने रणनीति लिएको छ । अभिभावकहरु स्वयम् नानीहरुलाई विद्यालय पठाउन तयार छैनन् । तर हेटौंडाका यी दुई विद्यालयका अभिभावक तथा शिक्षक परिवारले गरेको आँट कतै दुर्घटनामा नपरोस् भन्ने कुरामा सजग हुनै पर्दछ ।

सरोकारवालासँग समन्वय गरेर भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने प्रयासलाई नराम्रो मान्न सकिँदैन । तर बालबालिकाहरु विद्यालयमा भौतिक दुरीमै रहन सक्छन् ? भोली बालबालिका विरामी भए वा त्यहीँबाट कोरोनाको संक्रमण फैलिन गए त्यतिबेलाको जोखिमको जिम्मेवारी कस्को हो ? जतिसुकै दुरी कायम गरे पनि विद्यालयमा भिड हुन्छ नै । पढ्न र पढाउन आउनेहरुको सम्पर्क कोसँग भयो भन्ने भोलि लगत उठाउन समेत मुस्किल हुनेछ । जोखिम न्यूनीकरणका लागि भनेर नै सरकारले शैक्षिक संस्थाहरुलाई सबैभन्दा पछि मात्र खुल्ला गर्ने निर्णय गरेको हो । पठनपाठन सुरु हुनु समुदायका लागि अत्यन्त सकारात्मक भए पनि सरकारको नीति र निर्देशन विपरितको क्रियाकलाप त हैन ? यसको जवाफ पनि दिनुपर्ने अवस्था नआओस् ।

हेटौंडाका साना विद्यालयहरुले त जोखिम न्यूनीकरण गर्ने आँट र व्यवस्थापन साथ कक्षा सन्चालन गरे भने अरु ठूला र सुविधा सम्पन्नहरुले पनि यो तत्परता किन नदेखाउने ? हुन त केही विद्यालयहरुले अनलाईन कक्षा सुरु गरेका छन् । तर यसको प्रभावकारिता माथि पनि प्रश्न छन् । पढ्न पाउने अधिकार सबै विद्यार्थीको हो । के सम्पूर्ण अभिभावकहरुले अनलाईनको सेवा उपयोग गर्न सकेको अवस्था छ त ? सबै विद्यार्थीहरुले अनलाईन कक्षामा सहभागी हुन सक्ने परिवेश बनेको छैन । त्यसैले विद्यालयमै पठनपाठन हुनु सबै भन्दा उत्तम विकल्प हो । तर कोभिडको महामारी कम नहुँदै गरिने कक्षा सञ्चालन जोखिमपूर्ण छ । यही जोखिमका बीच हेटौंडाका साना विद्यालयहरुले गरेको सकारात्मक प्रयास हो । तर कोभिडबाट भने जोगिनु बालबालिकाको पहिलो अधिकार हो ।