जगन्नाथ पाण्डे ।

हेटौँडाः हेटौँडा–४ स्थित भुवनेश्वर (पशुपति मन्दिर) सेवा समितिको अध्यक्षमा पुनः जगन्नाथ पाण्डे चयन हुनुभएको छ । सोमबार भएको ११ औँ अधिवेशन तथा साधारणसभाले पाण्डेलाई सर्वसम्मत दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा तेजप्रसाद रुपाखेती, उपाध्यक्षमा राम बिडारी, सचिवमा नानीराम अर्याल, सहसचिवमा केशव देवकोटा र शान्ति श्रेष्ठ एवम् कोषाध्यक्षमा पूर्णमान श्रेष्ठ चयन हुनुभएको छ । समितिको सदस्यको भने टुङ्गो लाग्न बाँकी रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सदस्य सर्वसम्मत चयनमा समस्या भएकाले शुक्रबारसम्म टुङ्गो लगाउने र नलागेमा शनिबार चुनाव गराउने पाण्डेले बताउनुभयो । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष पाण्डेको अध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौड्याल, प्रल्हाद लामिछानेको पनि आतिथ्य रहेको थियो ।