एकीकृत भएपछिको प्रमाणपत्र ग्रहण गर्दै मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु ।

हेटौंडाः बागमती प्रदेशका विभिन्न २२ वटा सहकारी एकीकरणको प्रक्रियामा सहभागी भएका छन् । एकीकरणको प्रक्रियामा सहभागी भएका २२ वटा सहकारीबाट ६ वटा सहकारी बनेको छ । मकवानपुरका दुई सहकारी हेटौंडा–२ स्थित मकवानपुर प्रगति नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा–१७, हटियास्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको हो ।

एकीकरणपछि मकवानपुर प्रगति नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी रजिष्टारको कार्यालयबाट प्रमाणपत्र लिएको छ । जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको समेत उपस्थितिमा सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डेले मकवानपुर प्रगति नमूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मीठाराम दाहालसहित सहकारीका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । एकीकरणपछि कूल शेयर सदस्य २ हजार ५ सय १३ जना, शेयर पुँजी २ करोड ५५ लाख र निक्षेप संकलन २० करोड ९० लाख रूपैयाँ हुने सहकारीका व्यवस्थापक बद्रिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

मकवानपुर प्रगति नमूनाले यो सहित तेस्रो पटक एकीकरण प्रक्रिया पूरा गरेको छ । सुरुमा मकवानपुर नमूना र प्रगति बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएर मकवानपुर नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको थियो । त्यसपछि विभूति बचत तथा ऋण सहकारी संस्थालाई पनि मकवानपुर नमूना प्रगतिमै समावेश गरिएको थियो । आगामी दिनमा पनि सरकारको रणनीतिअनुसार सहकारीलाई एकीकृत गर्दै सेवा प्रवाहमा गुणस्तर वृद्धि गर्ने योजना रहेको सहकारीका अध्यक्ष मीठाराम दाहालले बताउनुभएको छ । सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डेले सहकारी एकीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको र आगामी दिनमा पनि एकीकृत हुन चाहने सहकारीलाई प्रोत्साहित गरिने बताउनुभयो ।

बागमती प्रदेशकै दोलखा जिल्लाका १० वटा सहकारीबीच एकीकरण भएर मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको छ भने भक्तपुरमा ३ वटा सहकारीबीच एकीकरण भएर अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेड बनेको छ । यस्तै ललितपुरका दुई सहकारी एकीकृत भएर प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको छ भने चितवनका २ वटा सहकारी एकीकृत भएर प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको छ । यस्तै काठमाडौंका ३ सहकारी एकीकृत भएर आइबीएल नमूना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको सहकारी रजिष्टार पाण्डेले जानकारी दिनुभएको छ ।