हेटौँडाः हेटौँडा अस्पतालमा रेबिज विरुद्धको खोप सकिएको छ । सरकारले निशूल्क उपलब्ध गराउने रेबिजविरुद्धको खोप नहुँदा सर्वसाधारणले खोप लगाउन पाएका छैनन् । मंगलबार हेटौँडा अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन आएका सेवाग्राही खोप लगाउन नपाएको भन्दै आक्रोशित बनेका छन् ।

“हेटौँडा अस्पतालका डाक्टरले आज (मंगलबार) लाई खोप लगाउन बोलाउनुभयो, खोप लगाउन आयौँ तर खोप छैन, २ वटा डोज खोप लगाइ सक्यौँ, आज हाम्रो अन्तिम डोज खोप लगाउनु पर्ने हो, मेरो परिवारमा ८ जनालार्ई खोप लगाउनु पर्ने छ ।” एक सेवाग्राहीले बताए । रेबिजविरुद्धको खोप बाहिर पनि लगाउन नपाएको उनको भनाइ छ । मंगलबार मात्रै ५० जना भन्दा धेरै मानिस रेबिजविरुद्धको खोप लगाउन हेटौँडा अस्पताल पुगेका थिए ।

अस्पताल प्रशासनमा बुझ्दा गत चैत २७ गते नै नेपाल सरकारबाट प्राप्त हुने खोप सकिएको रहेछ । चैत २८ गते अस्पतालले नै १ सय ७७ भाइल खोप खरिद गरी वैशाख ९ गते दिउँसो २ बजेसम्म खोप लगाइदिएको थियो । महँगो भएकाले अस्पतालले खरिद गर्न नसक्ने जनाएको छ । अस्पतालले आपूर्ति शाखासँग भ्याक्सिन माग भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले बताउनुभयो । मेसु अर्यालका अनुसार आपूर्तिमा खोप मगाउने कार्य भइरहेको छ, टेन्डरको प्रक्रियाले औषधी आउन ढिला हुन्छ, पहिलेबाटै भ्याक्सिन कम नै आइरहेको बताउँदै छिटो भन्दा छिटो भ्याक्सिन मगाउने उहाँले जानकारी गराउनुभयो ।

रेबिज भाइरसविरुद्धको खोप कुकुर, बिरालो र अन्य जङ्गली जनावरले टोक्दा लगाउनु पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, शरीरमा रेबिजको लक्षण देखिन थालेपछि यसको भाइरसले मानिसको मस्तिष्कमा आक्रमण गर्छ, र समयमा उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ ।