सहयोगीलाई सम्मान गर्नुहुँदै प्रमुख अतिथि प्रेमबहादुर पुलामी (दायाँ) ।

हेटौँडाः पूर्वी मकवानपुरको बकैया गाउँपलिकामा रङ्गशाला निर्माणका लागि नगद र जिन्सीसहित डेढ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ । जुरेली रङ्गशाला निर्माणका लागि बकैया–४ मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपैयाँ संकलन भएको हो ।

सप्ताह समापन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले सामाजिक कार्यका लागि महायज्ञ लगाइएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले समाजमा विकास र रूपान्तरणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । उहाँले बकैया खेलका लागि उर्वर क्षेत्र भएकाले जुरेली रङ्गशालाले पूर्णता पाए यहाँको अझै विकास हुने विश्वास व्यक्त गर्नुहुँदै रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन र सहयोग गर्न सधैँ अग्रभागमा रहेर सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

करिब तीन बिगाहा क्षेत्रफलमा रहेको रङ्गशालामा कभर्डहल, बास्केटबल, टेबलटेनिस, भलिबल, फुटबल मैदान निर्माण गर्न लागिएको समितिका अध्यक्ष विमल नेपालले जानकारी दिनुभयो । बकैया गाउँपालिकाभित्रको खेलमैदानमध्येको जुरेली खेलमैदान उत्कृष्ट भएकाले रङ्गशालाकारुपमा विकास गर्नका लागि जुरेली खेलमैदानका लागि स्थानीयसँग १५ कठ्ठा जग्गा खरिद गरेकाले त्यसको भुक्तानी गर्न महायज्ञ लगाइएको थियो ।

३० चैतमा उद्घाटन गरिएको महायज्ञ बैशाख ७ गते शुक्रबार समापन गरिएको थियो । महायज्ञमा प्रखर पण्डित कपिलदेव भट्टले कथावाचन गर्नुभएको थियो भने दैनिक सयौँको संख्यामा भक्तजनहरूले कथा श्रवण गरेका थिए । रङ्गशाला निर्माणका लागि जिल्ला समन्वय समिति, गाउँपालिका, वडातह र व्यक्तिगतरुपमा सहयोग प्राप्त भएको थियो ।