शिविरमा जाँच गर्न आएका स्थानियहरु

हेटौंडाः तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा १ दिने आँखा शिविर भएको छ । शिविरमा ७० जनाको आँखामा मोतिविन्दुको समस्या देखिएको हेटौंडा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

३ गते थाहानगर पािलका–४, दामनस्थित बज्रबाराही स्वास्थ्य चौकी, ५ गते बुधबार कैलाश गाउँपालिका–५ स्थित गोगने स्वास्थ चौकी र डाँडाखर्क स्वास्थ्य चौकी र सामुदायिक आँखा केन्द्र पालुङमा भएको शिविरमा ४ सय ५० जनाको आँखा परीक्षण गराएकोमा ७० जनामा मोतिविन्दु पाइएको थियो । मोतिविन्दु भएकामध्ये ५३ जनाको निःशुल्क शल्यक्रिया गरिएको र बाँकी १७ जनाको अन्य रोगका कारण शल्यक्रिया हुन नसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

शिविर थाहा नगरपालिकाको समन्वय तथा भिजन हिमालयन फाउण्डेसनको सहयोगमा भएको थियो । मोतिविन्दुको शल्यक्रिया डा. सुनिल थकालीले गर्नुभएको थियो । पालुङ जेसीज र लायन्स क्लब अफ पालुङको स्वयम्सेविकाको सहयोगमा शिविर भएको थियो ।