प्रवेश परीक्षामा सहभागी विद्यार्थी ।

हेटौँडाः हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा भर्ना हुन एक हजार दुई सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । शुक्रबार बिहान ११ बजे प्रवेश परीक्षा लिइएको थियो । पूर्वप्राथमिक तहदेखि ९ कक्षासम्म नयाँ भर्ना हुन उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएका हुन् ।

प्रवेश परीक्षा दिन आएका विद्यार्थी र अभिभावक आधुनिक राष्ट्रिय मावि परिसरमा रमाउँदै ।

विद्यालयले कक्षागत प्रवेश परीक्षा लिएको छ । विद्यालय २ घण्टाको परीक्षा लिएको थियो । प्रवेश परीक्षा दिएका मध्ये झण्डै आधा संख्याका विद्यार्थी मधेश प्रदेशका छन् । प्रवेश परीक्षाको नतीजा शनिबार प्रकाशन गरिने विद्यालयले जनाएको छ । विद्यालयले करिब ४ सय विद्यार्थी मात्रै भर्ना गर्न सक्ने जनाएको छ ।

कक्षाकोठा, जनशक्तिको अभावका कारण अभिभावकको इच्छा र आकर्षणका बाबजुद पनि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक रामसागर गुरागाईले जानकारी दिनुभएको छ । यस वर्ष मकवानपुर जिल्लाका विद्यार्थीको संख्या बढी रहेको उहाँको भनाइ छ ।

प्रवेश परीक्षा दिन आएका विद्यार्थी र अभिभावक कक्षाकोठा खोजी गर्दै ।

सबैभन्दा बढी ८ कक्षामा भर्ना हुनका लागि दुई सय २० जनाले प्रवेश परीक्षा दिएका छन् । यस वर्षको एसईईमा ३ सय ३७ जना सहभागी भएको आधुनिक राष्ट्रिय माविमा यस वर्ष ९ कक्षाबाट १० कक्षामा ४ सय ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । १२ कक्षासम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा दुई हजार पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।