उपप्राध्यापक सरोज पौडेललाई जन्मदिनको अवसरमा पुस्तक हस्तान्तरण गर्नुहुँदै क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकलाई जन्मदिनको अवसरमा पुस्तक उपहार दिन सुरु गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघको अग्रसरतामा प्राध्यापकहरुलाई सान्दर्भिक उपहार रहने र समाजमा अन्य क्षेत्रलाई पनि पठनसंस्कृतिको विकासमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले २०८१ सालको सुरुवातसँगै प्राध्यापकलाई जन्मदिनमा पुस्तक उपहार दिन सुरु गरिएको हो ।

बैशाख १ गते जन्मदिन परेका उप–प्राध्यापक सरोज पौडेललाई बैशाख २ गते आइतबार पुस्तक उपहार प्रदान गरिएको छ । प्राध्यापकको उपस्थितिमा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले पौडेललाई उपहारस्वरुप पुस्तक हस्तान्तरण गर्नुभयो । बैशाख महिनाभरका लागि आवश्यक पुस्तकको प्रायोजन क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले गर्नुभएको छ । मोहन मैनालीले लेख्नुभएको पुस्तक “मुकाम रणमैदानः नेपाल अंग्रेज युद्धको बखान” हस्तान्तरण गरिएको छ ।

१८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा नेपाली र अंग्रेज सिपाही तथा कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई मैनालीले किताबको विषयवस्तु बनाउनुभएको छ । कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बिच कतैकतै भेटिने, कतैकतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका ती चिठीका शब्दशब्दका अर्थ बुझेर मैले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा किताबमा समेटिएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसमा ८५ जना प्राध्यापक छन् । प्राध्यापकलाई पुस्तक उपहार कार्यक्रममा प्राध्यापक संघले हेटौँडा–४ स्थित किताबघरसँग सहकार्य समेत गरेको छ । किताबघरले पुस्तकको मूल्यमा सहुलियत प्रदान गर्ने गरी सहकार्यको प्रयास भएको प्राध्यापक संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।