हेटौंडाः हेटौंडामा वन्यजन्तु सप्ताहअन्तर्गत् विभिन्न कार्यक्रम भइरहेको छ । बैशाख १ गतेदेखि सुरु भएको वन्यजन्तु सप्ताह ७ गतेसम्म विविध कार्यक्रम गरी मनाइँदैछ ।
वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको समूहले वन्यजन्तु सप्ताहको अवसरमा विविध कार्यक्रमको आयोजना गरेका छन् । विगत वर्षहरुमा पनि वन्यजन्तु सप्ताह मनाउने गरेको वन विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले यस वर्ष पनि विविध कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाइरहेका हुन् ।
कृषि तथा वन विश्वविद्यालयको वन विज्ञान संकाय र त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरुले वन्यजन्तु संरक्षणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउँदै आइरहेका छन् । विभिन्न संघसंस्थासँगको सहकार्यमा सप्ताव्यापी कार्यक्रम भइरहेको आयोजक कमिटीेका सचिव कृतिका लौँडारीले जानकारी दिनुभयो ।
पहिलो दिन शनिबार उद्घाटन समारोह, होर्डिङ बोर्ड, डस्टविन स्थापना र वाटरहोल पुनस्थापना गरिएको छ । दोस्रो दिन आइतबार सडक ¥याली र सचेतनामूलक फ्लेक्स प्रदर्शन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन सोमबार फोहोर खोज चुनौती र बालबालिका केन्द्रित जलवायु सचेतना गरिएको छ ।
यस्तै, चौथो दिन मंगलबार बिहान रक्तदान कार्यक्रम र प्यानल छलफल गरिएको छ भने पाँचौं दिन बुधबार क्यामेरा ट्रयाप तालिम र खुला कला मञ्चको कार्यक्रम गरिएको सचिव लौँडारीले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमको छैटौं दिन बिहीबार सर्प उद्दार तालिम र पक्षी विज्ञानसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने र सातौं दिन समापन कार्यक्रम हुने बताइएको छ ।