बर्थिङ सेन्टरको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने ।

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ मा बर्थिङ सेन्टर उद्घाटन भएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बस्तीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाको १३ लाख लगानीमा बर्थिङ सेन्टरको २ कोठे भवन निर्माण भएको छ । बर्थिङ सेन्टर उद्घाटन भएसँगै ८ नम्बर वडाबाट नै प्रसुुती सेवा सञ्चालनमा आएको वडा अध्यक्ष विष्णु नेगीले जानकारी दिनुभयो । बर्थिङ सेन्टर उद्घाटन भएसँगै वडाका स्थानीय बासिन्दाले सहजै सेवा पाउनेमा अध्यक्ष नेगीले विश्वास व्यक्त गर्नुभयो ।

असअघि महिलाहरु प्रसुती गराउन हात्तीसुँडे, शिखरपुर जानुपर्नेमा अब त्यो समस्याको अन्त्य भएको उहाँको भनाइ छ । यसअघि सामान्य सेवा प्रवाह हुँदै आएकोमा बुधबारबाट प्रसुती सेवा सुचारु भएको हो । सेवा सुचारु भएसँगै ८ सय घरधुरी लाभान्वीत हुने वडा अध्यक्ष नेगीले बताउनुभयो । केन्द्रमा दैनिक २० देखि ३० जना मानिस स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।

वडामा वर्षायाममा खोला, खहरेको समस्याले विद्यार्थी विद्यालय आवतजावतमा समस्या पर्ने भएकाले वडाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् ७ वटा काठको पुल निर्माण भएको जानकारी गराउँदै पुल निर्माणले वर्षायाममा खोलाबाट हुने मानवीय क्षति कम हुने उहाँले बताउनुभयो । वडाले आगामी वर्षको बजेट निर्माणको क्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोेड दिने वडा अध्यक्ष नेगीले बताउनुभयो । बर्थिङ सेन्टर उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुुख कृष्णबहादुर मिजार, गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, कार्यपालिका सदस्य, जनप्रतिनिधि, स्थानीयहरुको उपस्थिति रहेको थियो ।