हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना जारी अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् एथ्लेटिक्सतर्फ बागमती प्रदेश प्रथम भएको छ । मंगलबार चितवनको भरतपुर महानगरपालिकाको चित्रवन रंगशालामा सम्पन्न भएको प्रतियोगितामा ७ वटा स्वर्ण, ७ वटै रजत र ८ वटा कास्य पदक गरी २२ पदक प्राप्त गर्दै बागमती प्रदेश एथ्लेटिक्समा प्रथम हुन सफल भएको हो ।
सुदूरपश्चिम प्रदेशले ६ वटा स्वर्ण, ६ वटै रजत र ६ वटै कास्यगरी १८ वटा पदक प्राप्त गर्दै द्वितीय हुन सफल भएको छ भने तृतीय हुने लुम्बिनी प्रदेशले ४ वटा स्वर्ण, ६ वटा रजत र ४ वटा कास्यगरी १४ वटा पदक प्राप्त गरेको छ । यस्तै, मधेश प्रदेशले ३ वटा स्वर्ण र एउटा रजत गरी ४ वटा पदक प्राप्त गरेको छ ।
तेक्वान्दो र कराँतेमा पनि बागमती प्रथम
हेटौंडाः चितवनको औद्योगिक प्रदर्शनी कभर्ड हलमा सम्पन्न भएको कराँते र तेक्वान्दो तर्फको उपाधि पनि बागमती प्रदेशले जितेको छ । तेक्वान्दोतर्फ बागमतीले ७ स्वर्ण, ४ वटा रजत र ९ वटा कास्यगरी २० पदकसहित प्रथम भएको हो भने कराँतेतर्फ ९ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्यगरी १६ वटा पदक प्राप्त गर्दै बागमती प्रथम भएको हो ।
तेक्वान्दोतर्र्फ लुम्बिनी प्रदेशले ३ वटा स्वर्ण, एउटा रजत र ११ वटा कास्य पदक गरी १५ वटा पदक प्राप्त गर्दे द्वितीय भएको छ भने कराँतेतर्फ कोशी प्रदेशले ५ स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ । यस्तै, गण्डकी प्रदेशले तेक्वान्दोमा ९ वटा रजत र ४ वटा कास्यगरी १३ वटा पदक प्राप्त गर्दै तृतीय भएको छ भने कराँतेमा एउटा स्वर्ण, ६ वटा रजत र कास्य पदक प्राप्त गर्दै तृतीय भएको छ ।
पौडी प्रतियोगिताको उपाधि बागमतीलाई
हेटौंडाः प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पौडी प्रतियोगिताको उपाधि पनि बागमती प्रदेशले जितेको छ । चितवनको एल्टिडी हवेलीमा सोमबार र मंगलबार सम्पन्न भएको प्रतियोगितामा बागमती प्रदेशले २७ स्वर्ण, १९ रजत र ७ वटा कास्य गरी ५३ वटा प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै, सुदूरपश्चिम प्रदेशले ३ वटा स्वर्ण, ८ वटा रजत र ७ वटा कास्य पदक प्राप्त गर्दै द्वितीय भएको छ भने लुम्बिनी प्रदेशले ३ वटा कास्य पदक प्राप्त गर्दै तृतीय भएको छ । पौडीतर्र्फको खेलमा अरु प्रदेशहरु पदकबिहीन भएका छन् ।