नेपाललाई कृषिप्रधान देश भनिन्छ । यहाँका करिब आधा जनसंख्या कृषिमा आश्रित भएका कारण कृषिप्रधान देश भनिनु सान्दर्भिक होला तर, अधिकांश कृषि उत्पादनमा आत्मनिर्भर नभएको देशलाई कृषिप्रधान भनिनु न्यायोचित पक्कै हुँदैन । हाम्रो देशको कृषि प्रणाली, कृषि उत्पादन र बजारीकरणमा धेरै समस्या तथा चुनौतीहरु विद्यमान छन् । हाम्रो देशको कृषि जीवन निर्वाहमुखी छ । कृषियोग्य भूमि धमाधम प्लटिङ भएर घर बनिरहेका छन् । जमिनको खण्डीकरण बढ्दै गएर कृषि उत्पादन घट्दै गएको छ । छरिएर रहेको कृषि उत्पादन प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहज भइरहेको छैन । कृषि उत्पादनले सुनिश्चित बजार पाउन सकेको छैन । कृषि उत्पादन र उत्पादकत्व अपेक्षित रुपमा वृद्धि हुन सकिरहेको छैन । कृषिजन्य कच्चापदार्थ प्रयोग गरेर सञ्चालन हुने उद्योग पर्याप्त खुल्न सकेको छैन । कृषि व्यवसाय प्रवर्द्धन गर्न पनि कठिन भइरहेको छ ।
देश संघीयतामा गएपछि आम नागरिकको घरदैलोको सरकारको रुपमा स्थानीय सरकारलाई मानिएको छ । प्रत्येक स्थानीय सरकारले आफ्नो क्षेत्रको जमिनको अवस्था र कृषि उत्पादनको सम्भावनालाई ध्यानमा राखेर स्थानीय कृषिजन्य उत्पादन र बजारीकरणमा सहजीकरण गर्नु आवश्यक छ । तर, अधिकांश स्थानीय सरकारले कृषिको आधुनिकीकरण, व्यावसायिकरण र स्थानीय कृषिजन्य उत्पादनको बजार प्रवर्द्धनमा पर्याप्त ध्यान दिन सकेको छैन । सरकारले करिब दुई दशकअघि नै कृषि उत्पादनको प्रभावकारी बजार व्यवस्थापन प्रणालीको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन राष्ट्रिय कृषि नीति, २०६१ र कृषि व्यवसाय प्रवद्र्धन कार्यलाई गति प्रदान गर्न कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३ लागू गरेको छ ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने काम सुरु गरेको छ । हेटौंडा–१२, घलेगाउँका महिलाहरुले उत्पादन गरेको गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न नगरप्रमुख मीनाकुमारी लामाले बताएकी छिन् । कञ्चनजंगा कृषि सहकारी संस्था लिमिटेड लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र हस्तान्तरण गर्दै नगरप्रमुख लामाले महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरुको उत्पादनलाई बजारसम्म पुर्याउन उपमहानगरले प्रयास गरिरहेको बताएकी हुन् । उपमहानगरले गत असोजमा उक्त उद्योगसँग एक लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको र हालैमात्र उक्त रकम प्रदान गरेको छ । नगरप्रमुखकै सुझावअनुसार गुन्द्रुक उत्पादन गरिएको भए पनि समयमै सहयोग प्रदान नगरेको र उत्पादित गुन्द्रुकको बजार प्रवर्द्धन नभएका कारण करिब ३ लाख रुपैयाँ मूल्यको गुन्द्रुक बिक्री नभएर राख्नुपरेको बताइएको छ । नगरप्रमुखले उत्पादन गरेको गुन्द्रुकको बजार सुनिश्चित गरिदिन्छौं भने पनि अहिलेसम्म त्यसको ठोस प्रयास नहुँदा महिला उद्यमीले उत्पादन गरेको गुन्द्रुक थन्क्याएर राख्नुपरेको छ ।
उद्यमी महिलाहरुले सहकारीमार्फत् १५ कठ्ठा जमिन भाडामा लिएर रायोको साग खेती गरेर गुन्द्रुक उत्पादन गरे पनि बिक्री नहुँदा उनीहरु चिन्तित बनेका छन् । सहकारीमा आवद्धमध्ये १५ जना महिलाको समूहले करिब ८० हजार रुपैयाँ लागतमा गुन्द्रुक उत्पादन गरेको र हालसम्म एक लाख ५० हजार रुपैयाँ बराबरको गुन्द्रुक बिक्री गरिसकेको छ । उद्योगको अनुज्ञापत्र हस्तान्तरण गर्दै नगरप्रमुख लामाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारमा गुन्द्रुक प्रवर्द्धन गर्ने बताएकी छिन् । तर, प्रवर्द्धनको ढाँचा र ठोस नीति उपमहानगरसँग छैन । नगरप्रमुखले हेटौंडाका होटल व्यवसायीलाई गुन्द्रुक किनिदिन आग्रह गर्नेबाहेक बजार प्रवर्द्धनको अन्य प्रयास सुरु गरिएको छैन । हेटौंडा उपमहानगरपालिकाले स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धन र प्रभावकारी बजारीकरणका लागि ठोस नीति बनाएर उत्पादनमा सहुलियत दिने वा सहयोग गर्ने हो भने हेटौंडामा गुन्द्रुकजस्तै अन्य थुप्रै स्थानीय उत्पादनको प्रवर्द्धन सहज हुनेछ ।