कार्यशालामा सहभागी शिक्षकहरु ।

हेटौँडाः हेटौँडा–१४ स्थित आदर्श शिक्षा निकेतनले आफ्ना शिक्षकका लागि पाठ्यक्रम निर्माण तथा वार्षिक योजनासम्बन्धी कार्यशालाको आयोजना गरेको छ । सोमबार सुरु भएको कार्यशाला तीन दिनसम्म सञ्चालन हुनेछ । कार्यशालामा १४ जना शिक्षक सहभागी छन् । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरेको प्रिन्सीपल दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

कार्यशालामा जमुना थापा र गंगा थापाले सहजीकरण गर्नुहुनेछ । कार्यशालामा सहभागी शिक्षकलाई वार्षिक पाठयोजना तयार पार्न, पाठ्यक्रमको विषयमा बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बालविकास कक्षासम्बन्धमा प्रशिक्षकको रुपमा कार्यरत जमुना थापा र गंगा थापासँग आदर्श शिक्षा निकेतनले वार्षिक सम्झौता नै गरेर सहकार्यको प्रयास गरेको पनि प्रिन्सीपल भट्टराईले जानकारी दिनुभएको छ । अहिले सामुदायिक तथा निजी अधिकांश विद्यालयले नयाँ शैक्षिक सत्रको तयारीस्वरुप शिक्षकको क्षमता विकासका लागि कार्यशाला तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आदर्श शिक्षा निकेतनलाई प्रिन्सीपल भट्टराईले गत माघ महिनादेखि मात्रै जिम्मेवारी लिनुभएको हो । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा १ सय २७ जना विद्यार्थी सहभागी थिए । सरस्वती पुजाको अवसरमा नर्सरी कक्षामा ४२ जना नयाँ विद्यार्थी भर्ना गर्न सफल भएको प्रिन्सीपल भट्टराईको भनाइ छ ।