हेटौँडाः मकवानपुरका निजी विद्यालयहरुमा वार्षिक परीक्षा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा आवद्ध भएका निजी विद्यालयको वार्षिक परीक्षा बिहीबारबाट सुरु भएको प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको हो ।
मकवानपुर जिल्लामा प्याब्सनमा आवद्ध ६२ वटा विद्यालयबाट करिब ३२ हजारभन्दा बढी परीक्षार्थीहरु वार्षिक परीक्षामा सहभागी भएको अध्यक्ष सुवेदीले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाका ४८ वटा, मनहरी गाउँपालिकाका ८ वटा र थाहा नगरपालिकाका ६ वटा विद्यालय गरी जम्मा ६२ वटा विद्यालयबाट विद्यार्थीहरु परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो ।
कक्षा–९ को प्रश्नपत्र प्याब्सनले निर्माण गर्ने र बाँकी कक्षाको प्रश्नपत्र सम्बन्धित विद्यालयले बनाउने गरेको उहाँले बताउनुभयो । परीक्षा दुई सिफ्टमा सञ्चालन भइरहेको छ । कक्षा–१ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको बिहान १० बजेदेखि १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ भने कक्षा ६, ७ र ९ को परीक्षा १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत २४ गतेसम्म सञ्चालन हुनेछ ।