हेटौँडाः हेटौँडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४, गोठखोलामा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ। सोमबार दिउँसो १ बजेको समयमा हात्तिसुडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले गरगरेबाट हात्तिसुडेतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साईकलयात्री ११ वर्षीय निशान बानियाँ घाइते भएका थिए।
खुट्टा र टाउकोमा चोट लागेको बानियाँलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा सोमबार दिउँसो २ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० की ३५ वर्षीया शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।