हेटौंडाः हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ८ विजयी भएको छ । सोमबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा वडा नम्बर ४ लाई टाइबे्रकरमा २–१ गोल अन्तरले पराजित गर्दै वडा–८ विजयी भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । वडा ४ बाट मनोज लामाले पहिलो हाफको १९ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम समयमा एक गोल गर्दै वडा–८ का खेलाडी व्यञ्जन घिमिरेले खेललाई बराबरीमा ल्याएका थिए ।

टाइबे्रकरमा वडा–८ बाट ५ जना खेलाडीले बल प्राहार गर्दा ३ जनाको प्रहार गोलमा परिणत भएको थियो भने वडा ४ बाट २ जनाले प्रहार गरेको बलमात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच वडा–८ का गोलरक्षक निकेश भुजेल घोषित भएका छन् ।

आइतबारको खेलमा ५ र ७ नम्बर वडाको विजयी सुरुवात

सोमबार भएको दोस्रो खेलमा वडा नम्बर १७ ले वडा नम्बर ६ लाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै विजयी भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । टाइबे्रकरमा पनि ३–३ गोलको बराबरीमा रोकिएर खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा दुबै टिमबाट ५–५ जना खेलाडीहरुले बल प्रहार गर्दा ३ जनाको प्रहारमात्र गोलमा परिणत भएको थियो । सडन डेथमा वडा–८ बाट २ जनाले बल प्रहार गर्दा १ जनाको प्रहारमात्र गोलमा परिणत भएको हो ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी दोस्रो संस्करणको अन्तरवडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगितामा वडा–५ विजयी भएको छ । आइतबार भएको खेलमा वडा–११ लाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै वडा नम्बर–५ ले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि नतिजाको लागि टाइबे्रकरको सहारा लिनुपरेको थियो । वडा–११ बाट सुदीप लामाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने राजेश घिमिरेको प्राहारलाई वडा–५ का गोलरक्षक समन सापकोटाले उत्कृष्ट प्रदर्शनी गर्दै बचाउ गरेका थिए । यस्तै, वडा–११ का खेलाडी युग स्याङ्तानले प्रहार गरेको बल पोष्टबाट बाहिरिएको थियो । वडा–५ बाट एन्जल महर्जन, सञ्जीव अर्याल र निरज ठकुरीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलको म्यान अफ म्याच वडा–५ का गोलरक्षक सापकोटा घोषित भए ।

यस्तै, आइतबार भएको दोस्रो खेलमा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर १० लाई २–० गोल अन्तरले हराउँदै वडा–७ ले विजयी सुरुवात गरेको हो । वडा ७ को जितमा सुजन लामाले २ गोल गरे । लामाले खेलको पहिलो र दोस्रो हाफमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच लामा नै घोषित भए ।

प्रतियोगिताअन्तर्गत् अब वडा ५ ले सेमिफाइनल प्रवेशका लागि बुधबार वडा–१२ सँग र वडा–७ ले १७ नम्बर र ६ नम्बरबीचको विजयी टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रको १७ वटा वडाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।