प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे समीक्षा गरिदैँको तस्वीर

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषदले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम तयारीको विषयमा समीक्षा गरेको छ । बिहीबार प्रदेश खेलकुद विकास परिषद् अध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारीे मोक्तानको सभाध्यक्षमा सामाजिक विकास मन्त्रालको सभाहलमा बसेको १७ औँ बोर्ड बैठकले प्रदेश टिमको तयारीको विषयमा समीक्षा गरेको खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।

बैठकले अन्तप्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि विभिन्न उपसमितिको संयोजक तोकेको छ । प्रचारप्रसार समिति संयोजकमा नेपालको पहिलो रेस्लर तथा कराँतेका एकेएफ रेफ्री हिक्मत थपलिया रहने भएका छन् । स्वास्थ्य उपसमितिको संयोजकमा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी अमृत तामाङ र पुरस्कार तथा खेल सामग्री व्यवस्थापन संयोजकमा अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा चलचित्र निर्माता निरञ्जन थापालाई चयन गरेको छ ।

बैठकले खेलस्थल व्यवस्थापनको संयोजकमा प्रदेश खेलकुद विसका परिषद्का बोर्ड सदस्य तथा बुद्धिचाल खेलाडी माधव तिमल्सिनालाई चयन गरेको छ । यस्तै, अनुशासन समितिमा सुनिता गौतम, प्राविधिक खेलकुद समन्वय समिति संयोजकमा धनकुमार मैनाली चयन भएका छन् । बसोबास तथा यातायात समिति संयोजकमा बोर्ड सदस्य तथा राष्ट्रिय कराँते खेलाडी उत्तम गुरुङ रहने बताइएको छ ।

प्रतियोगितामा १ सय ४६ वटा स्वर्ण पदकको लागि ७ प्रदेशबाट ३ हजारभन्दा बढी खेलाडीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता तथा तालिम शाखा प्रमुख दुर्गाप्रसाद दुलालले बताउनुभएको छ । प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुने प्रमुख दुलालले बताउनुभयो । प्रतियोगितामा महिला पुरुष तेक्वान्दो, कराँते, बक्सिङ, क्रिकेट, भलिबल, फुटबल, एथ्लेटिक्स र पौडीको खेल हुनेछ ।

प्रतियोगिताअन्तर्गत् महिला–पुरुष क्रिकेट गौतमबुद्ध क्रिकेट रंगशालामा, तेक्वान्दो, कराँते र बक्सिङ चितवन जिल्लाको औद्योगिक प्रदर्शनी हलमा, महिला र पुरुष भलिबल चितवनको गेष्ट हाउस चौरमा, पौडी एल्टिडी हबेलीमा र एथ्लेटिक्स खेल चितवनको केन्द्र अथवा वीरेन्द्र क्याम्पसमा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी जनाउनका लागि विभिन्न प्रदेशले टिम तयार गरिहेको बताउनुहुँदै प्रदेशले १२ गतेसम्म नाम पठाइसक्नुपर्ने दुलालले बताउनुभयो । अन्तर प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत् बागमती प्रदेशको कराँते, बक्सिङ, तेक्वान्दो, एथ्लेटिक्स खेलको छनोट सम्पन्न भएको छ ।

यही चैत २५ गतेदेखि चितवनको गौतम बुद्ध क्रिकेट रंगशालमा सुरु हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुनेछ भने समापन हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुनेछ । यसअघि प्रतियोगिताको समापन हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा गर्ने भनिएता पनि तेस्रो संस्करणको मेयर कप फुटबल यही चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने भएकाले प्रतियोगिताको समापन हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने सदस्यसचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको समापन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुने जनाइएको छ । नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बागमती प्रदेशको टिममा परेको, अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी जनाएको र विभागीय टिमबाट राजीनामा दिएको खेलाडीहरुले अन्तरप्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउन पाउने जनाइएको छ । प्रदेशको मापदण्डबमोजिम छनोट भएको, पहिलो र दोस्रो प्रदेशस्तरीय प्रतियोगितामा पदक प्राप्त गरेर छनोट भएको खेलाडीहरुले विभिन्न संघहरुको अन्तर्राष्ट्रिय निमयबमोजिम अन्तरप्रदेशस्तरीय प्रतियोगितामा सहभागी जनाउनेछन् ।

विभिन्न ७ प्रदेशका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउने, विभिन्न प्रदेशका खेलाडीहरुको पहिचान गर्न, खेलाडीहरुको खेल कौशलताको अभृवृद्धि गर्न र प्रदेशका खेलाडीहरुबीच भातृत्व कायम गराउन प्रतियोगिताको आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता टिमले क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि ६ करोड बजेट विनियोजन भएको छ । प्रतियोगिताको लागि करिब ११ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बैठकमा मन्त्रालयका सचिव डा. भीष्मकुमार भुषाल, परिषदका सदस्यसचिव भण्डारी र नेपाली सेना तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।