हेटौंडाः हेटौंडाबाट उद्दार गरिएका बालश्रमिकहरुलाई परामर्शपश्चात् अभिभावकलाई जिम्मा लगाएको छ । बिहीबार बागमती प्रदेशको श्रम तथा रोजगार मन्त्रालयले हेटौंडा र मकवानपुरगढी गाउँपालिकाबाट उद्दार गरिएका ६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको बालश्रमिक उद्दार उपसमिति, बाल हेल्पलाइन मकवानपुर र उपमहानगरपालिकाको बाल सहजकर्ताको टोलीले गएको सोमबार हेटौंडा–८ स्थित कमाने, हेटौंडा–१८ स्थित हर्नामाडी र मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित च्याउ फार्मबाट उनीहरुलाई उद्दार गरेको थियो । श्रम कार्यालयले तीनवटै च्याउ फार्मका सञ्चालक हेटौंडा–१८ का प्रकाश खतिवडालाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, सञ्चालक खतिवडालाई हेटौंडा–१५ का १२ वर्षीय विनोद दोङ र १६ वर्षीय मंगललाल पाख्रिन दुबैजनालाई १ महिना ६ दिन काम गरेबापतको २१ हजार ९ सय ७६ रुपैयाँ पारिश्रमिक दिन लगाएको छ ।
यस्तै, हेटौंडा–१ का १६ वर्षीय रञ्जित बोम्जन, १४ वर्षीय दीपक भोलन र १३ वर्षीय रमित पाख्रिनलाई ४ दिन काम गरेबापत यातायात खर्चबापत ४ सय रुपैयाँ दिन लगाइएको छ । हेटौंडा–१५ का १३ वर्षीय अनिल बललाई ५ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराएको छ । उद्दार गरिएकाहरु सबैजना विद्यार्थी भएको र पढाई छाडेर बसेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो । अभिभावकसँग सोधपुध गर्दा उनीहरु आफैं पढाइ छोडेर काम गरेको र बालश्रमसम्बन्धी ऐन कानुनबारे जानकार नभएको बताएको उहाँले जानकारी दिनुभयो । सबै अभिभावकले आफैंले आफ्ना छोराहरुलाई पढाउने प्रतिबद्धतासमेत जनाएको उहाँले बताउनुभयो । बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरमा यो वर्षको जनवरीदेखि हालसम्म ९६ जना बालश्रमिकको घटना दर्ता भएको छ ।