हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले पार्टीबाट सरकारमा सहभागि चार जना मन्त्रीहरुलाई जनताको सुझाव संकलन सुरु गरेको छ । सोमबार हेटौंडाको बुद्धचोकमा दुई दिनका लागि जनताहरुको सुझाव संकलन गर्न सुरु गरेको पार्टी मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले बताउनुभयो ।
पार्टीका सभापतिसमेत रहनुभएका नेपाल सरकारको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री विशालभक्त श्रेष्ठ र श्रम तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालका लागि छुट्टाछुट्दै पुस्तिकामा सुझाव संकलन गरिएको हो । जसमा सबैभन्दा बढी गृह मन्त्रीको लागि सुझाव संकलन भएको छ । गृह मन्त्रालयको सुझावपत्रमा सहकारी ठगीहरुलाई पक्राउ गर्न, ट्राफिक प्रहरी चेकिङको समस्या र विभिन्न लघुवित्तका समस्याबारे सुझावहरु जनताले राखेका छन् । यस्तै शिक्षामन्त्री श्रेष्ठका लागि विपन्न लक्ष्यित आवसहितको निशुल्क शिक्षा, विदेश पलायन हुनुपर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने र पाठ्यक्रमको परिर्माजन गर्नुपर्ने सुझावहरु राखेका छन् ।
यस्तै खेलकुदमन्त्री श्रेष्ठका लागि खेलकुदमा राजनितिक नियुक्तीलाई बन्द गरी विज्ञको आधारमा हुनुपर्ने, प्रतियोगिता मात्रै भन्दा पनि एकेडेमी बनाएर खेलाडी उत्पादन गर्नुपर्ने र खेलकुद क्षेत्रमा भएको अनियमिताको अन्त्य गर्नुपर्ने सुझाव राखेका छन् । यस्तै श्रममन्त्री अर्यालका लागि श्रमिकहरुको पारिश्रमिक निर्धारण, श्रमिकहरुले तलब नपाइरहेको अवस्थालाई अन्त्य गर्नुपर्ने र युवाहरु विदेशीनुपर्ने बाध्यतालाई हटाउन आवश्यक नीति बनाउन सुझाव राखेका छन् । सुझाव मंगलबारसम्म लिने संगठन विभाग प्रमुख महतले बताउनुभएको छ । सुझावहरु संकलन गरेर सबै मन्त्रीहरुसमक्ष पु¥याउने उहाँले बताउनुभयो । कार्यक्रममा रास्वपाबाट जनताले धेरै कुराको अपेक्षा गरेको पाइएको उहाँले बताउनुभयो । यसअघि रास्वपा सरकारमा हुँदा छोटो समयै राम्रा कामको सुरुवात गरेकोमा जनताले त्यसको प्रशंसा गरेको र अब जनताको समस्या हल गर्न काम गर्न आग्रह गरेको उहाँले बताउनुभयो । यसअघि रास्वपा मकवानपुरले पार्टी सरकारमा नहुँदा सबै सांसदहरु घरघरमा पुगेर जनताको सुझाव संकलन गरेको थियो ।
सुझाव संकलन कार्यक्रममा नगर ¥याट प्रमुख दामोदर दाहाल, सुचना तथा सञ्चार विभाग प्रमुख राम विक्रम थापा, मकवानपुर क्षेत्र नम्बर २ का सभापति सञ्जीव पाठक, सचिव किशोर अर्या, नगर सभापति धु्रव विष्ट लगायतको उपस्थिति रहेको थियो ।