हेटौँडाः डिभिजन वन कार्यालय मकवानपुरले वन डढेलो सप्ताह सुरु गरेको छ । वन डढेलो सप्ताह कार्यक्रम अन्तर्गत फागुन महिनामा डिभिजन वन कार्यालयको कार्यक्षेत्रका ३ देखि ५ वटा सामुदायिक वन सम्मिलित ४० (चालिस) वटा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । गठन भएको वन डढेलो नियन्त्रण सञ्जालले सामुदायिक वनहरुको समन्वयमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनको कार्य गर्नेछ ।
वन डढेलो नियन्त्रणका लागि हरित स्वयम्सेवक परिचालनको कार्य समेत गरिरहेको छ । डिभिजन वन कार्यालय मकवानपुर र मातहतका सब डिभिजन वन कार्यालय मार्फत वन डढेलो सचेतना सम्बन्धी स्कुल कार्यक्रम, र्याली, माईकिङ, रेडियो तथा पत्रपत्रिका मार्फत सचेतना सामग्री प्रकाशन तथा प्रसारण गरिरहेको छ ।
वन डढेलो जोखिम नियन्त्रणका लागि विभिन्न वन क्षेत्रहरुमा अग्नि रेखा निर्माण तथा मर्मत गर्ने, वन क्षेत्रमा झाडी सफाई लगायतका कार्यहरु मार्फत ज्वलनशील पदार्थहरु हटाउने कार्य समेत जारी रहेको डिभिजन वन कार्यालय हेटौँडाले जनाएको छ । डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र समन्वयमा ८ वटै सब–डिभिजन वन कार्यालयको मातहतका सामुदायिक वनहरुमा प्रतिकात्मक डढेलो तथा नियन्त्रित वन डढेलो मार्फत वन डढेलो जोखिम कम गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको छ ।