हेटौंडाः ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउन बागमती प्रदेशस्तरीय समिति गठन भएको छ । प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको हो ।

बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकले मूल समारोह समिति गठन गरेको हो । सहकारी दिवसलार्ई अनुशासित, व्यवस्थित र मर्यादितरुपमा भब्यताका साथ सम्पन्न गर्न बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीलाई प्रमुख सल्लाहकारमा मनोनित गरिएको छ । यस्तै, सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल र केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक बिदुर हुमागाईलाई सल्लाहकार मनोनयन गरिएको छ ।

मूल समारोह समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण घिमिरे र सदस्यसचिवमा बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल रहेका छन् । मूल समारोह समितिमा राष्ट्रिय सहकारी महासंघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, केन्द्रीय विषयगत सहकारी संघका बागमती प्रदेशभित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लिमिटेड र बिषयगत सहकारी संघका सम्पूर्ण सञ्चालकहरु समितिका सदस्य चयन भएका छन् ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका लेखा अधिकृत विनोद प्रधान, योजना अधिकृत उत्तम चापागाई, प्रशासन प्रमुख बिजय बिडारी, अधिकृत दीपकराज मिश्रलाई पनि सदस्यमा चयन गरिएको छ । बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला सहकारी संघका सञ्चालक, लेखा समिति र पूर्वअध्यक्षहरु, ब्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालय हेटौँडा, नेफस्कुन फिल्ड कार्यालय हेटौंडा, मूल कार्यक्रममा सहभागी हुने स्थानीय पालिकाभित्रका प्रारम्भीक सहकारी संस्थाका अध्यक्षहरु, समन्वय समिति गठन भएका पालिकास्तरीय समन्वय समितिका संयोजकहरु समितिको सदस्य रहने सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दाहालले बताउनुभयो ।

बैठकले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई ब्यवस्थित बनाउन आवश्यक समन्वय गर्नका लागि सचिवालयसमेत गठन गरेको छ । सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सहसंयोजक बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, सदस्यसचिव बागमती प्रदेश सहकारी माहाशाखाका रजिष्ट्रार रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेशका सञ्चालकहरु, केन्द्रीय बिषयगत सहकारी संघ लिमिटेडका सञ्चालकहरु, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अधिकृत रमेश पौडेल, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यालय प्रमुख प्रतिमा सापकोटा, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, बागमती प्रदेश सहकारी संघका व्यवस्थापक रुपक घिमिरे, बागमती प्रदेश विषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु, मकवानपुर जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष र ब्यवस्थापकहरु रहेका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध रचनात्मक कार्यक्रमसहित मनाउने संयोजक नारायणप्रसाद देवकोटाले बताउनुभयो । नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमसहित मनाइँदै आएको छ ।