होटल एसोसिएसनको भवन उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके र प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई

हेटौंडाः मकवानपुर होटल एसोसिएसनको नवनिर्मित भवन उद्घाटन भएको छ । बुधबार होटल महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले हेटौंडा–११, थानाभर्याङ, सिमलटारमा निर्माण सम्पन्न भवनको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा होटल महासंघका केन्द्रीय अध्यक्ष चुकेले २०६८ सालबाट महासंघले ६५ जिल्लामा रहेका होटलको क्षेत्रमा सेवा विस्तारका कार्य गर्दै आएको जानकारी गराउनुभयो । पछिल्लो समयमा पर्यटन क्षेत्र सुस्ताएकाले विभिन्न क्षेत्रका पर्यटक भित्र्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । सरकारले पर्यटनको क्षेत्रमा नीतिगत कार्य गर्न नसक्दा विभिन्न क्षेत्रमा समस्या आइपरेको उहाँको भनाइ छ ।

महासंघले देशभर रहेका ८१ हजार होटल व्यवसायीहरुको क्षेत्रमा कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय होटल व्यवसायमा आएको समस्याले होटलमा सुसाइड गर्ने कार्य बढेकाले प्रशासनसमक्ष त्यस्ता घटना समाधान गर्न जोड दिनुभयो । होटल व्यवसायी महासंघमा १० हजार जनशक्ति आवश्यक रहेका कारण संघले दक्ष जनशक्ति उत्पादनमा जोड दिएकोसमेत उहाँले जानकारी दिनुभयो ।

होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी महासंघ बागमती प्रदेश र जिल्ला संघको संयुक्त भवन निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले ५ कठ्ठा जग्गा उपलब्ध गराएको थियो । २२ लाख ५० हजार लागतमा २ कोठाको भवन निर्माण गरिएको हो । विभिन्न संघ तथा व्यक्तिबाट प्राप्त रकमबाट भवन निर्माण गरिएको मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले जानकारी दिनुभयो । होटल व्यवसायी महासंघ नेपालबाट ५ लाख, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशबाट २ लाख, संघका संस्थापक अध्यक्ष भागिरथ शर्माबाट २ लाख, मकवानपुर जिल्ला संघबाट १३ लाख ५० हजार जम्मा भएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुर होटल एसोसियसन २०६० सालमा स्थापना भई होटल व्यवसायीको हक, हितका निमित्त संगठन विस्तार गरी कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । संघमा अहिले ४१८ जना होटल व्यवसायी सदस्य आबद्ध रहेको अध्यक्ष जोशीले बताउनुभयो । संस्थाले पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएकोसमेत बताउनुभयो ।

कार्यक्रममा होटल एसोसिएसन बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय माकवानपुरका प्रहरी प्रमुख सीताराम रिजाल, सशस्त्र प्रहरी १४ नम्बर गणका गणपति ज्ञानप्रसाद भुर्तेल, ११ नम्बर वडा अध्यक्ष जुना दाहाललगायत होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।