पुरस्कार ग्रहणपछि फोटो खिचाउँदै ।

हेटौंडाः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाको प्रायोजन तथा चाँगुनारायण साहित्य समाजले आयोजना गरेको राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मकवानपुरका सुवास सजल द्वितीय भएका छन् ।

प्रतियोगितामा सिन्धुपाल्चोकका सुन्दर शिरीष प्रथम हुनुभएको छ भने धनगढीका सुजक घिमिरे तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

समाजका अध्यक्ष लालबहादुर भुजेलको सभाध्यक्ष तथा इतिहासविद् प्रा.डा. दिनेशराज पन्तको प्रमुख आतिथ्यमा कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा छानिएका २० जना कविहरुले आफ्नो कविता वाचन गरेका थिए । प्रतियोगिताको सञ्चालन रामगोपाल आशुतोषले गर्नुभएको थियो ।
प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको विशिष्ट आतिथ्य रहेको थियो भने चाँगुनारायण मन्दिरका मूल पुरोहित चक्रधानन्द, ४ नम्बर वडाध्यक्ष रोजबहादुर तामाङ, ३ नम्बर वडाध्यक्ष श्यामसुन्दर धिमालको पनि उपस्थिति रहेको थियो ।