हेटौंडाः मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार संघका अध्यक्ष हरिप्रसाद कँडेलको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

कार्यक्रममा सहभागीहरुले दूधको भुक्तानीमा भएको ढिलाई र दूध बिक्रीमा कमी हुँदै गएको विषयमा बृहत् छलफल भएको थियो । संघका अध्यक्ष कँडेलले प्रतिवेदन प्रस्तुत गर्नुहुदै संघको समस्या नियमित दूध बिक्रीमा कमी आउनु र दूधको भुक्तानी समयमा नआउनुबारे जानकारी गराउनुयो । चरणबद्ध आन्दोलनपश्चात् केन्द्रीय संघ र सरकारबीच भएको सम्झौतामा पनि जिल्ला संघले केही बुँदामा असहमति जनाएको अध्यक्ष कँडेलको भनाइ छ ।

प्रारम्भीक दुग्ध उत्पादक सहकारी संस्थाहरु लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै कँडेलले जानकारी दिनुभयो । स्थानीय तहदेखि प्रदेश सरकारसम्म संस्था र किसानलाई यान्त्रिक उपकरण अनुदान र लिटर अनुदान उपलब्ध गराउन आवश्यक पहल गरिएको उहाँको भनाइ छ ।

सभामा सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले दूध बिक्रीमा कमी आउनुमा खुला सिमानाको कारण रहेको दाबी गर्नुभयो । उहाँले राज्यले भारतीय बजारबाट अवैधरुपमा आएका दुग्धजन्य पदार्थ रोक्नुपर्नेमा जोड दिनुभयो । उद्योगीहरुको समस्या पहिचान गरी किसानको भुक्तानी समयमा गराउन आवश्यक पहल गरिएको बताउँदै सहकारी र किसानलाई आवश्यकताका आधारमा अनुदान दिने प्रणालीको विकास गर्दा थप प्रभावकारी देखिने बताउनुभयो ।

सभामा संघका व्यवस्थापक कुमारमणि दाहालले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७९/८० मा संघ र सिधै उद्योग गएको दूध गरी एक करोड ३८ लाख ७२ हजार ६०७ लिटर दूूध खरिद गरेको जानकारी गराउनुभयो । उक्त दूधबापत ९७ करोड ३६ लाख ५७ हजार ८९४ रुपैयाँ सदस्य संस्थामा भुक्तानी गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष संघले १३ लाख ११ हजार २२१ रुपैयाँ खुद नाफा गरेको व्यवस्थापक दाहालले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को अनुमानित आम्दानी खर्च विवरणसमेत प्रस्तुत गर्नुभएको थियो । एक करोड १३ लाख शेयरपुँजी रहेको संघमा एक करोड २६ लाख ७२ हजार ३८० रुपैयाँ जगेडा कोष रहेको प्रतिवेदनमा उल्लेख छ । ४४ वटा दुग्ध चिस्यान केन्द्र सञ्चालन गरेको संघको कार्यालयमा ७५ हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । संघद्वारा सञ्चालित दुग्ध प्रशोधन तथा विविधिकरण उद्योगबाट विभिन्न दूधजन्य पदार्थहरु उत्पादन गरी बिक्री वितरणसमेत गर्दै आइरहेको छ ।

सभामा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य विदुर हुमागाई, संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, सल्लाहकार खिलप्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, लेखा समिति संयोजक वीरबहादुर गोलेलगायतको आतिथ्य रहेको थियो ।