पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर

हेटौंडाः हेटौंडामा फागुन २६ गतेदेखि स्वर्गीय अष्टकुमारी शाक्यको स्मृतिमा क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडाको आयोजनामा यही फागुन २६ गतेदेखि २९ गतेसम्म अन्तर क्याम्पसस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । जेसीआई हेटौंडाको वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको आमा अष्टकुमारीको स्मृतिमा सन् १९९८ बाट प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

हेटौंडा–५ स्थित हुप्रचौरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–५ स्थित हेटौंडा सिटी कलेज र हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टबीच प्रतिस्पर्धा हुनेछ । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा मकवानपुर जिल्लाको नारायणी कलेज, बारा जिल्लाको सिमरा क्याम्पस, पर्सा जिल्लाको नेशनल इन्फोटेक र चितवनको कलेजको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट ब्याट्स म्यान र उत्कृष्ट बलरलाई पनि ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता आयोजनाका लागि विभिन्न ठाउँहरुबाट सहयोग प्राप्त हुने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।