पोखरा (कास्की)ः स्वतन्त्र पत्रकार संघ कास्की शाखाको अध्यक्षमा कृष्ण बहादुर रानाभाट निर्वाचित हुनुभएको छ । बिहिबार जिल्ला समन्वय समिति (जिसस) कास्कीको सभाहलमा भएको १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले रानाभाटको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । साधारणसभाको अवसरमा पत्रकार रजनी तामाङलाई नगद १० हजार रुपैयाँसहित पत्रकार महिला सम्मान प्रदान गरिएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा डिल्लीराम (डिआर) काफ्ले, सचिवमा रजनी तामाङ, कोषाध्यक्षमा राधा ढकाल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा गणेश बज्र लामा, अल्चना श्रेष्ठ, रोशन केसी र शिविर पौडेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष असफल गौतमको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता तिलक पराजुलीको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघको केन्द्रीय समिति अध्यक्ष कृष्णप्रसाद बास्तोला, उपमहासचिव सुरेश श्रेष्ठ र कल्याण पन्त, नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, जिल्ला समन्वय समिति कास्कीका प्रमुख नवराज बरालको पनि आतिथ्य रहेको थियो ।
साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने वक्ताहरुले स्वतन्त्र पत्रकारिताको महत्वका बारेमा चर्चा गरेका थिए । पत्रकारिता निश्पक्ष र स्वतन्त्र हुनुपर्ने, दलसम्बद्ध संगठन र पत्रकारिताले जनविश्वास आर्जन गर्न नसक्ने र सरकारको निरन्तर पहरेदारीमा स्वतन्त्र पत्रकारिताको आवश्यकता औँल्याइएको थियो । अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर रानाभाटले अग्रजको मार्गनिर्देश र कार्यसमितिको सामूहिक प्रयासमा स्वतन्त्र र निश्पक्ष पत्रकारिताको विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।











