हेटौंडा उपमहानगरपालिकाभित्रका तीन वटा विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । हेटौंडा–१६ स्थित जनप्रिय मावि, हेटौंडा–८ स्थित चन्द्रोदय मावि र हेटौंडा–२ स्थित बालजागृति बोर्डिङ स्कूललाई बालमैत्री विद्यालय घोषणा गरिएको हो । गत मंगलबार तीनवटै विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बालमैत्री विद्यालय घोषणा गरिएको हो । गत मंसिरभित्रै हेटौंडा उपमहानगर पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने भनिए पनि हालसम्म ३ वटा विद्यालयमात्र बालमैत्री घोषणा भएका हुन् । उपमहानगर भित्रका सबै विद्यालय, वडा हुँदै पालिकालाई नै बालमैत्री घोषणा गरिनेछ । बालमैत्री घोषणाका लागि तोकिएका सूचकहरु पूरा भएको ग्यारेन्टी भएपछि बालमैत्री घोषणा गरिन्छन् । बालमैत्री घोषणा भएपछि त्यसको नियमित कार्यान्वयन र प्रभावकारी अनुगमन भएन भने घोषणाको सार्थकता रहँदैन ।
कुनै पनि स्थानीय तहलाई बालमैत्री घोषणा गर्न तोकिएका ५१ वटा सूचकहरु पूरा भएको हुुनुपर्छ । बालमैत्री घोषणाका लागि बालबालिकाको बाँच्न पाउने अधिकार (बाल बचाउ) सम्बन्धी १४ वटा सूचकहरु पूरा गर्नुपर्ने हुन्छ । गर्भवतीको नियमित जाँच, टिटानस सुइ लगाएको, आइरन चक्की खाएको, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, शिशुलाई स्तनपान गराएको, शिशुलाई तोकेका सबै खोप र भिटामिन ए दिएको, खानेपानीको व्यवस्था र शौचालयको प्रयोग भएकोजस्ता सूचकहरु बाल बचाउअन्तर्गत् छन् । जन्मदर्ता, बालश्रम अन्त्य, बालविवाहमुक्त, कुप्रथा नभएको, बालबालिकालाई यातना नदिएको, सडक बालबालिका नभएको आदि १० वटा सूचकहरु बालबालिकाको संरक्षण पाउने अधिकार (बाल संरक्षण) अन्तर्गत् पूरा गर्नु पर्ने छन् । बालबालिकाको विकास गर्न पाउने अधिकार (बाल विकास) सम्बन्धी ६ वटा सूचकहरु पूरा गर्नुपर्छ, जसमा तोकिएको उमेर समूहका बालबालिका अनिवार्य बालविकास कक्षा र आधारभूत तहमा अध्ययन गरेको, विद्यालयमा खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, उपयुक्त भौतिक पूर्वाधार र नियमित अतिरिक्त क्रियाकलाप छन् । बालबालिकाको सहभागी हुन पाउने अधिकार (बाल सहभागिता) सम्बन्धी ६ वटा र संस्थागत विकाससम्बन्धी १५ वटा सूचकहरु पनि पूरा भइसकेपछि बालमैत्री पालिका घोषणा गर्न सकिनेछ ।
विद्यालयलाई बालमैत्री घोषणा गर्न विभिन्न २६ वटा सूचकहरु पूरा गर्नुपर्ने देखिन्छ । विद्यालयमा बाल समूहको गठन भएर समूहको नियमित बैठक बसेको हुनुपर्नेछ । स्वच्छ खानेपानीको व्यवस्थासहित विद्यालयमा छात्र र छात्राका लागि पर्याप्त र अलग शौचालयको व्यवस्था हुनुपर्छ । विद्यालयमा बालमैत्री भौतिक संरचना भएको हुनुपर्छ । नियमित अतिरिक्त क्रियाकलाप गरेको र त्यसको अभिलेखीकरण भएको हुनुपर्छ । विद्यालय व्यवस्थापन समितिमा एक–एक जना छात्रा र छात्र विद्यार्थी अनिवार्य सहभागी हुने व्यवस्था गरिनुपर्छ भने विद्यालयमा बालमैत्री आचारसंहिता निर्माण गरी कार्यान्वयन गरिएको हुनुपर्छ । विद्यार्थीलाई शारीरिक र मानसिक यातना नदिएको, विपद् व्यवस्थापनसम्बन्धी सचेतना प्रदान गर्ने गरेको आदि सूचक पूरा भएपछि विद्यालयलाई बालमैत्री घोषणा गर्न सकिने व्यवस्था छ ।
बालअधिकार र संस्थागत विकाससम्बन्धी यस्ता सूचकहरु पूरा भएको प्रमाणित भएपछि बालमैत्री घोषणा गर्ने गरिन्छ । तर, कतिपय सूचकहरु कागजीरुपमा पूरा भएको भन्दै बालमैत्री घोषणा गर्ने गरिएको पाइन्छ । वास्तविकरुपमा पूरा नभएका सूचकहरुलाई पनि कागजीरुपमा पूरा गरेर बालमैत्री घोषणा गर्दा घोषणाको औचित्य रहँदैन । बाल बचाउ, बाल विकास र बाल सहभागितासम्बन्धी सूचकहरु अधिकांश पूरा भएका र पूरा गर्न सकिने रहेको भए पनि बाल संरक्षणसम्बन्धी सूचकहरु पूरा गर्न सजिलो छैन । बालमैत्री विद्यालय वा पालिका घोषणा हुनु भनेको तोकिएका सूचकहरु पूरा हुनु हो । तर, बालमैत्री घोषणा गर्ने समयमा पूरा भएका अधिकांश सूचकहरुले त्यसपछि निरन्तरता पाउन चुनौती बन्ने गरेको छ । बालमैत्री घोषणा गर्नुअघि र गरिसकेपछि तोकिएको सूचक पूरा गर्न/गराउन गम्भीर बन्नुपर्ने आवश्यकता छ । अन्यथा बालमैत्री घोषणाको सार्थकता हुनेछैन ।
