Home मुख्य समाचार फागुन २८ गतेदेखि मतदाता नामावली प्रकाशन गरिने

फागुन २८ गतेदेखि मतदाता नामावली प्रकाशन गरिने

हेटौंडाः निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले मकवानपुरमा मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा भएको कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख ताराप्रसाद रेग्मीले फागुन २८ गते आयोगको वेबसाइटमा मातदाता नामावली प्रकाश गरिने बताउनुभयो ।

रेग्मीले फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म जिल्लाभित्रका सबै पालिकाका वडा कार्यालयमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा मुख्य भूमिका निर्वाचन कार्यालय र स्थानीय तहअन्तर्गत् वडा कार्यालयको रहनेछ ।

फागुन २८ गते मतदाता नामावली प्रकाशन, २९ गतेदेखि चैत्र ५ गतेसम्म अनलाइन, निर्वाचन कार्यालय वा वडा कार्यालयमा त्रुटी सच्याउन निवेदन दिने, मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भएमा सोको विरोधमा उजुरी दिन सकिनेछ । २९ गतेदेखि चैत्र ५ गतेसम्म नै कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने र मृत्यु भएको वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिन आयोगले अनुरोध गरेको छ ।

सोही अवधिमा वडा कार्यालयमा दर्ता भएका निवेदन प्राप्त गर्ने, बसाइँसरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट र नागरिकता त्याग गरेका मतदाताको विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने र सूचना तथा निवेदन प्राप्त नभएता पनि कुनै मतदाता बसाइँसरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको प्रमाणित विवरण प्राप्त गर्ने कार्यतालिका रहेको छ । चैत्र ६ गतेदेखि ८ गतेसम्म निर्वाचन कार्यालयमा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने भएको छ । यस्तै, चैत्र ९ गतेदेखि १२ गतेसम्म निर्वाचन कार्यालयमा मतदाता नामावलीबाट नाम हटाउने सम्बन्धमा आवश्यक छानबीन गरी प्रमुख नामदर्ता अधिकारीले त्रुटी सच्याउने र नाम हटाउनेलगायत कानुनबमोजिम निर्णय गरिनेछ ।

चैत्र १२ गतेदेखि १५ गतेसम्म निर्वाचन कार्यालय र वडा कार्यालयमा नाम हटाइएको सूचना प्रकाशन गर्ने र फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउन सकिनेछ । यस्तै, चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने रेग्मीले बताउनुभयो । अद्यावधिकको लागि नयाँ नाम दर्ता नहुने तर सच्चाउने काममात्र हुने रेग्मीले बताउनुभयो ।

आयोगले फागुन १३ गतेदेखि नयाँ नाम दर्ताको काम बन्द गरेका छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख सूर्यप्रसाद सेढाई र मकवानपुर जिल्लाका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थिति रहेको थियो ।

Exit mobile version