हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको छ । आज मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको आयोजना तथा बकैया गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा तालिम हुने इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।
प्रमुख गिरीका अनुसार कार्यसम्पादन मूल्याङ्कन फारम भर्दा धेरै त्रृटि भएकाले तालिमको आयोजना गरिएको हो । साथै विद्यालयका शैक्षिक योजनाका विषयमा छलफल हुनेछ । तालिममा इकाई प्रमुख गिरी र इकाईको शाखा अधिकृत उन्नति ढकालले सहजीकरण गर्नु हुनेछ । तालिममा सहभागी हुनका लागि पालिकाभित्र रहेका ७६ वटा विद्यालयका प्रधानाध्यापकलाई सूचना गरिएको छ ।
यसअघि हेटौँडा उपमहागरपालिका र मकवानपुरगढी गाउँपालिकाका प्रधानाध्यापकलाई तालिम प्रदान गरिएको थियो । दुई पालिकाबाट ३८ जना प्रधानाध्यापकको उपस्थिति रहेको थियो । जेठ महिनाभरमा मकवानपुर जिल्लाको १० वटै पालिकामा सहजीकरण गर्ने गिरीले बताउनुभयो ।
