Home मुख्य समाचार हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा

हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा

जनप्रिय माविमा बालमैत्री घोषणाको उद्घाटन गर्नु हुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाभित्रका तीन वटा विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले तीनवटै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्नुभयो ।

नगर प्रमुख लामाले हेटौंडा–१६ स्थित जनप्रिय मावि, हेटौंडा–८ स्थित चन्द्रोदय मावि र हेटौंडा–२ स्थित बालजागृति बोर्डिङ स्कूललाई बालमैत्री विद्यालय घोषणा गर्नुभएको हो । बालमैत्री घोषित जनप्रिय र चन्द्रोदय सरकारी विद्यालय हो भने बालजागृति नीजि विद्यालय हो ।

जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जनप्रिय बाल समूहले सञ्चालन गरेका शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयमा बाल समूहलाई प्रभावकारी र व्यवस्थित बनाउन शैक्षिक गतिविधिसँग जोडिँदै कार्यहरु गर्दै आइरहेको बताउनुभयो । यसका लागि विद्यालयमा बाल समूहको गठन र वडा तहमा बाल समूह सञ्जाल निर्माण गरेको उहाँले बताउनुभयो । यसले विद्यार्थीमा बाल अधिकार, संविधानका निर्देशित हक अधिकारका बारेमा सुसूचित हुने अवसर पाएको उहाँले बताउनुभयो । विद्यालयले बालविवाह अन्त्यका लागि सचेतना र जनजागरणमूलक ¥याली, भित्ते लेखन र प्रविधिमैत्री बाल कक्षाको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

बाल समूहकी अध्यक्ष सृष्टि अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

यस्तै, चन्द्रोदय माविका प्रधानाध्यापक जीधराज ढकालले विद्यालयले बालमैत्री विद्यालय घोषणाका लागि विभिन्न सूचक पूरा गरेर नगरपालिकाबाट अनुमति प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यालयले बालमैत्री भौतिक संरचना, वातावरण र आचारसहिंता पूरा गरेको बताउनुभयो । उहाँले विद्यालयले अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गरेर लैजाने बताउनुभयो । उहाँले विद्यालयले विद्यालय व्यवस्थापन समितिमा एक–एक जना छात्रा र छात्र विद्यार्थी अनिवार्य सहभागी गराउन सुरु गरेको बताउनुभयो । यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष इवाकर मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, विद्यालयकी बाल समूहकी अध्यक्ष सुप्रिया मोक्तान, अन्य वडाका वडाध्यक्ष र अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

बालजागृतिका प्रिन्सिपल विनोद सुवेदीले बालमैत्री घोषणाका लागि स्कूलले विभिन्न सूचकहरु पूरा गरेको बताउनुभयो । स्कूलले बालमैत्री आचारसंहिता निर्माण, बालविवाहसम्बन्धी चेतनामूलक कार्यक्रम, सेनेटरी प्याडको व्यवस्था, बालविकास केन्द्र र दैनिक खाजा तालिका, बालमैत्री आचारसंहिताबारे छलफल, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको अभिलेख र बाल समूहको नियमित बैठक बसेको बताउनुभयो । स्कूल सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनलगायत अन्य वडाका वडाध्यक्षहरुको आतिथ्य रहेको थियो ।

Exit mobile version