हेटौँडा : बागमती प्रदेश सभाको काँग्रेस संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि सम्पत्ति शुद्धीकरण विभागले कानूनी दायरामा रहेर अनुसन्धान गर्न भनेको छ । सोमबार साँझ ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको संसदीय दलको बैठकले कानूनी प्रक्रियासम्मत ढंगबाट अनुसन्धान गर्न माग गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार मुख्यमन्त्री बानियाँको निजी निवास र कार्यालयमा छापा मारेको थियो । संविधान र कानुन अनुसारको अनुसन्धानमा सघाउने निर्णय पनि बैठकले गरेको छ । ‘दलका नेतामाथि लगाइएको आरोपको संवैधानिक र कानुनी दायरामा रहेर निष्पक्ष एवम् न्यायोचित रुपमा छानबिन गर्न बैठकले निर्णय गरेको छ । कांग्रेसले अनुसन्धान प्रक्रियालाई कानुनी प्रक्रिया सम्मत बनाउन माग गरेको छ ।’ संसदीय दलका सचिव प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले भने, ‘कांग्रेस अनुसन्धानको दायरा भन्दा पर भाग्दैन । सबैलाई अनुसन्धान गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ । कानुन अनुसार भएका सबै अनुसन्धानमा मुख्यमन्त्री सहित सबैले सघाउने निर्णय गरेका छौं ।’
त्यसैगरी, बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठन बारे पनि छलफल भएको थियो । बैठकले कांग्रेस सभापति गगन कुमार थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग छलफल गरेर बैशाख महिना भित्रै सभामुख चयन गर्ने निश्कर्ष निकालेको छ । बैठकले प्रशासनक पुनर्संरचनाको कामलाई निर्णयमा पुर्याएर मन्त्रिमण्डल घटाउने निर्णय गरेको छ । उक्त कार्य बैशाख महिनामा टुंग्याउन गरी मुख्यमन्त्री बानियाँलाई जिम्मा दिने बैठकले निर्णय गरेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा आयोजना छनोटका लागि निर्वाचन क्षेत्र केन्द्रीत भएर छलफल गर्ने निर्णय गरेको छ । । आगामी वर्षका लागि आयोजनाहरु छनोट गर्दा हचुवाका भरमा नगरी प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक आवश्यकतालाई मुख्य आधार बनाइने बैठकले निर्णय गरेको छ । बजेटलाई जनमुखी र सन्तुलित बनाउनका लागि सम्बन्धित क्षेत्रका जनप्रतिनिधिको सुझाव र भूगोलको विशिष्टतालाई प्राथमिकता दिने दलको तयारी छ ।
