हेटौंडाः हेटौंडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारदेखि नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गर्नुभएको हो ।
४५ वर्ष उमेर समूहमाथिका खेलाडी प्रतियोगितामा मंगलबार पाँच खेल सम्पन्न भएको छ । मंगलबारको पहिलो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा बौद्ध भेट्रान्स काठमाडौंलाई ५–१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्सले विजयी सुरुवात गरेको हो ।
नागस्तीको तर्फबाट खेलको १६ औं मिनेटमा भुसेन लिम्बुले, २० औं मिनेटमा प्रकाश रानाले, दोश्रो हाफको २९ र ३२ औं मिनेटमा निमा लामाले दुई गोल र ३८ आंै मिनेटमा रोहित खत्रीले गोल गरे । खेलको म्यान अफ द म्याच नागस्वतीका लामा घोषित भए । बौद्धका लागि खेलको ४४ औं मिनेटमा सञ्जु लामाले एक गोल गरे ।
मंगलबारको दोश्रो खेलमा बानेश्वर फ्रेन्डसीप भेट्रान्सले अभिषेक चर्चलाई ३–० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । फ्रेन्डसीपका लागि खेलको तेस्रो मिनेटमा शशी गौतम, दोश्रो हाफको ४१ औंै मिनेटमा प्रविन केसी र ४८ औं मिनेटमा महेन्द्र खवासले गोल गरे । खेलको म्यान अफ द म्याच खवास घोषित भए ।
तेश्रो खेलमा पशुपति भेट्रान्स विजयी भएको छ । थारु भेट्रान्सलाई २–० गोलले पराजित गर्दै पशुपतिले विजयी सुरुवात गरेको हो । पशुपतिको जीतमा सुबोध ढुंगेल र टीकाराज उप्रेतीले एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच पशुपतिका ढुंगेल घोषित भए ।
यस्तै, चौथो खेलमा चितवन भेट्रान्स विजयी भएको छ । सिमरा भेट्रान्सलाई ३–१ गोल अन्तरमा पराजित गर्दै चितवन विजयी भएको हो । चितवनको जीतमा खेलको २३ आंै मिनेटमा रवीन्द्र श्रेष्ठले, ३० आंै मिनेटमा मनोज लामाले र ४५ औं मिनेटमा सुरेन्द्र चौधरीले गोल गरेका थिए भने सिमरा भेट्रान्सका तर्फबाट खेलको ३३ औ मिनेटमा सूर्यमान तामाङले एक गरेका थिए । खेलको म्यान अफ द म्याच चितवनका श्रेष्ठ घोषित भए ।
पाँचौं तथा मंगलबारको अन्तिम खेलमा हेटौंडा भेट्रान्स बी विजयी भएको छ । हेटौंडाले नवजागृति क्लबलाई पराजित गरेको थियो । खेलको ३० औं मिनेटमा हेटौंडाका सञ्जय थापाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । खेलमा थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार एकसय ११ रुपैयाँ, उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका कार्यबाहक अध्यक्ष नवराज बज्राचार्यले बताउनुभयो ।