खेलाडीहरुलाई बिदाईको क्रममा खिचिएको तस्वीर

हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई बिदाई गरिएको हो ।

मकवानपुर जिल्लाको प्रतिनिधित्व गरेर आज सोमबार र भोलि मंगलबार हुुने प्रदेशस्तरीय प्रतियोगितामा एथ्लेटिक्स, तेक्वान्दो, कराँते, उसु, भलिबल र कबड्डी खेलहरुबाट करिब ९८ जना खेलाडीहरु सहभागी हुुँदैछन् । प्रदेशस्तरीय प्रतियोगितामा खेलाडीको नतिजा राम्रो बनाउने उद्देश्यले एक साताको बन्द प्रशिक्षण सम्पन्न गरेर खेलाडीहरुलाई आइतबार चितवन पठाइएको हो ।

यसअघि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा छनोट हुने खेलाडीहरुलाई २ साता बन्द प्रशिक्षण राख्ने भनिएता पनि प्रदेशस्तरीय प्रतियोगिताको मिति अचानक सार्वजनिक भएकाले एक सातामात्र बन्द प्रशिक्षणमा राखिएको जनाइएको छ । एक सातासम्म सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई विहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण दिने गरिएको थियो ।

खेलाडीहरुको खानपानको मध्यनजर गरेर बिहान चना, अन्डा, दूध र बेलुका स्याउ, अंगुर र दूध खुुवाउने गरेको थियो । बन्द प्रशिक्षणमा खेलाडीहरुको खर्चका लागि हेटौंडा उपमहानगरपालिकाले ६ लाख रुपैया बजेट छुट्याएको थियो । बिदाई कार्यक्रममा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको एथ्लेटिक्स विधातर्फ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएकी दीना गोपालीलाई ट्रयाकसुुट पनि प्रदान गरिएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रतिनिधित्व गर्न सम्बन्धित खेलका टिम कोच, टिम म्यानेजरसहित करिब १ सय १५ जना चितवन प्रस्थान गरेका छन् । प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत् उसु खेल भने काठमाडौंमा हुनेछ । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट हुने खेलाडीहरु राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउन पाउने छन् ।

तेक्वान्दोतर्फका छात्र आदित्य पराजुलीले प्रदेशस्तरीय प्रतियोगिता हुँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अपेक्षा गरेको बताउनुुभएको छ । करिब एक साताको बन्द प्रशिक्षणमा प्रशिक्षकले सिकाएको कुराहरु राम्ररी सिक्न पाएको, मकवानपुुरको विभिन्न पालिकाहरुबाट आएका खेलाडीहरुसँग परिचय गर्न पाएको उहाँले बताउनुभयो । विभिन्न ठाउँका खेलाडीहरुमा भातृत्व कायम गर्न बन्द प्रशिक्षणको आवश्यकता रहेको बताउनुहुँदै विद्यालयका विद्यार्थीहरुमा थप टेवा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा यसवर्ष अझ राम्रो नतिजा प्राप्त गर्ने सबै खेलाडीहरुले अपेक्षा गरेका छन्् । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्गीले मकवानपुर जिल्लाको शान बढाउनका लागि सबै खेलाडीहरुलाई अनुशासनको पालना गर्न अग्रह गर्नुुभयो । प्रतियोगिमा राम्रो नतिजा प्राप्त गर्नका लागि सबै खेलाडीहरुलाई मिहिनेत गरेर खेल्न उहाँले अनुरोध गर्नुभयो ।

प्रदेशस्तरीस्तरीय प्रतियोगिबाट पदक प्राप्त गर्ने खेलाडीहरुलाई उपमहानगरपालिकामार्फत् सम्मान गर्ने उहाँको भनाइ छ । सभाध्यक्ष आलोक स्याङ्तानले नगद रकमलाई भन्दा पनि खेललाई महत्व दिन आग्रह गर्नुभयो । खेललाई अनुशासित ढंगले प्राथमिकता दिएमा खेलाडीहरु प्रदेश हुुँदै राष्ट्रियस्तरमा पुुग्ने धारणा राख्नुुभयो ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले ९८ जना खेलाडीहरुको नेतृत्व गरेर बन्द प्रशिक्षणमा सहभागी गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो । बिदाई कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरे, तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष रवीन्द्र डंगोलको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुुख माधव कोइरालाले गर्नुभएको थियो ।