हेटौँडाः विभिन्न घटनामा एकै दिन ४ जना मृत फेला परेका छन् । नुवाकोट, चितवन र रामेछाप जिल्लामा एकै दिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५, नाप्रङचेतमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३, ठुलोगाउँ बस्ने ७३ वर्षीय टेक प्रसाद भट्ट रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो ४ बजेको समयमा जलकन्यादेवी सामुदायिक वनको गोरेटो बाटोमा ढुङ्गामा टाउको रहेको र टाउकोबाट रगत बगेको अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ । यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क पछाडी एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा तनहु जिल्ला देवघाट गाउँपालिका–५ बस्ने ५१ वर्षीया शारदा पौडेल रहेको प्रहरीले जानकारी दिएको छ ।
पौडेल मंगलबार बिहान ६ बजेर ५० मिनेटको समयमा नारायणी नदिको तिरमा बगाउँदै ल्याएको अवस्थामा फेला परेकी थिइन् । मुचुल्का लगायत अन्य प्रारम्भिक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३, सित्खामा ५ महिने बालकको कंकाल फेला परेको छ । मंगलबार मध्य पहाडी लोकमार्गको सडकको भित्तातर्फ हाल नाम नखुलेको, टाउकोको भाग देखिने तर शरिरको अन्य भाग सडीगली सकेको ५ महिने बालकको अस्तिपञ्जर (कंकाल) फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–४, कमिनीचौरमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमेश्श्र नगरपालिका–२, फुलपा बस्ने ६० वर्षीया कामी परियार रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती १० बजेको समयमा टोलसुधार समितिको बैठक हलको ढोकामा परियार अचेत अवस्थामा फेला परेकी थिइन । परियारलाई उपचारका लागि पशुपति चौलागाई जिल्ला अस्पताल दोलखामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।