Home अर्थ/व्यापार एनआईसी एसिया बैंकको मनलाग्दी, आफुखुसी ऋण बढाएर ऋणीको किस्ता तान्दै

एनआईसी एसिया बैंकको मनलाग्दी, आफुखुसी ऋण बढाएर ऋणीको किस्ता तान्दै

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै तीन महिना जनजीवन ठप्प भयो । व्यवसायीहरु प्रत्यक्ष मारमा परे । व्यवसायीका लागि खान, लाउन भन्दा पनि बैंकबाट लिएको ऋणको किस्ता कसरी तिर्ने भन्ने चिन्ता मुख्य रह्यो । लकडाउनमा व्यवसायी मारमा परेकै बेला बैंकले भने मनलाग्दी गरेको छ । एनआईसी एसिया बैंकको हेटौंडा शाखाले आफुखुसी ऋणीको खातामा ऋण बढाएर व्याज असुली गरिरहेको छ ।

हेटौंडा–१० का व्यवसायी अमृत रत्न मानन्धर र अतित मानन्धर (बाबु–छोराको संयुक्त) को खातामा एनआईसी एसिया बैंकको हेटौंडास्थित शाखाले चार लाख ६० हजार रुपैयाँ ऋण थपिदिएर त्यही थपिदिएको पैसाबाट २०७६ चैत, २०७७ बैंशाख र जेठ महिनाको व्याज रकम असुली गरेको छ । ऋणी मानन्धरले फागुनसम्मको व्याज बुझाएका छन् । ऋणको व्याज र सकेसम्म साँवा समेत नियमित बुझाउँदै आएका व्यवसायी मानन्धर फागुनसम्मको व्याजको किस्ता बुझाएर ढुक्क बसेका बेला लकडाउनकै बेला बैंकले आफुखुसी ऋण रकम बढाएर व्याज असुली गरेको देखेर त्रसित बनेका छन् । बैंकरले नै ऋणीको खातामा आफुखुसी ऋण बढाएर ऋणको व्याज लिने र ऋणीलाई ऋणको भार मात्रै बढाउने कार्य गैरकानुनी भएको बताउँछन् ।

बैंकको समस्यालाई लिएर बिहिबार मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालको सहजीकरणमा बैंकका हेटौंडा शाखा प्रबन्धक दिपक श्रेष्ठ, ऋणी अतित मानन्धरबीच छलफल समेत भएको छ । बैंकका शाखा प्रबन्धक दिपक श्रेष्ठले ऋण सम्झौताअनुसार नै ऋणीको सहमतिमै थप ऋण स्वीकृत गरी व्याज कट्टा गरेको दावी गर्नुभयो । ऋणी अतित मानन्धरले भने फागुन महिनासम्मको व्याज चुक्ता गरेपछि बैंकबाट थप ऋण र किस्ताको विषयमा कुनै कुराकानी नभएको स्पष्ट पार्नुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले लकडाउनको समयमा उद्योगी, व्यवसायी मारमा परेको उल्लेख गर्नुहुँदै बैंकले सहयोग गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको बैंकले निजी क्षेत्रकै व्यवसायीको हितमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । छलफलपछि बैंकले असारदेखि व्याजदर घटाएर सहयोग गर्ने बताएको ऋणी अतित मानन्धरले जानकारी दिनुभयो ।

Exit mobile version