हेटौंडाः हेटौंडा–४, कर्राको श्रमिक माविमा सञ्चालन रहेको आइसोलेसनमा आज २ जना रहेका छन् । हिजो बुधबारसम्म १० जना रहेकोमा ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि अन्य डिस्चार्ज भएको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो । त्यस्तै आज २ जनाको रिपोर्ट नेगेटिभ आएमा आइसोलेसन खाली हुने भएको छ ।

हेटौंडा–९ को ५० वर्षिय कोरोना संक्रमित पुरुषको पुनः परिक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना पठाइएको छ । आज रिपोर्ट पोजेटिभ आए पुनः उनलाई आइसोलेसनमा राखिने र नेगेटिभ आएमा डिस्चार्ज गरिने इन्चार्ज चौलागाईले जानकारी दिनुभयो । यसअघि उनको ३ पटक परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

होल्डिङ सेन्टरबाट १५ जनाले सेवा लिए

हेटौंडा–१०, फरेष्टि क्याम्समा संचालनमा रहेको होल्डिङ सेन्टरबाट आज ५ जना महिला आफ्नो स्थानिय तहमा गएका छन् । कुबेतबाट हिजो हेटौंडा उपमहानगरपालिकाका २ जना र मनहरी गाउँपालिकाका ३ जनासहित ५ जना महिला होल्डिङ सेन्टरमा आइपुगेका होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनुभयो ।

यस्तै आज बिहीबार विदेशबाट आएका १ जना आउने भएका छन् । मनहरी गाउँपालिका घर भएका उनलाई सिधै गाउँपालिकासँग समन्वय गरेर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पठाइने उहाँले बताउनुभयो । आजसम्म होल्डिङ सेन्टरमा १५ जनाले सेवा लिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

क्वारेन्टाइमा सुस्तमनस्थिति पुरुष पनि

हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको हेटौंडा–१०, स्थित गोरक्षस्वर क्वारेन्टाइनमा आज ७ जना रहेका छन् । कलैयाका १ जना, सर्लाहिको २ जना, हेटौंडा–८ का २ जना, हेटौंडा– ७ का १ जना र सुस्तमनस्थिति भएका एक पुरुष रहेको क्वारेनटाइनका इन्चार्ज लक्ष्मी नारायण भगतले जानकारी दिनुभयो । यस्तै हेटौंडा–१२ मा रहेको क्वारेन्टाइहरु सबै खाली भएका छन् ।