बकैया कला–साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष भक्तबहादुर खत्री ।

शिखरपुर (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव सुरु भएको छ । बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालिदेवी माविमा शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले महोत्सवको उद्घाटन गर्नुभयो । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष टंकध्वज लोप्चन, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको पनि आतितथ्य रहेको थियो ।

बकैया कला–साहित्य महोत्सवमा सहभागी विद्यार्थी ।

महोत्सव शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुनेछ । झरना साहित्यिक परिवारको ३०० औं साहित्य शृङ्खला तथा ३१ औं वार्षिकोत्सव समारोह समेत एकसाथ आयोजना हुँदैछ । पहिलो दिन शुक्रबार गाउँपालिकाका विद्यालयका विद्यार्थीको सहभागितामा कविता प्रतियोेगिता र चित्रकला प्रतियोेगिता समेत भएको छ । विद्यार्थीले नृत्यकला समेत प्रस्तुत गरेका छन् ।

बकैया कला–साहित्य महोत्सवमा विद्यार्थीका चित्रकला अवलोकन गर्दै ।

दोस्रो दिन शनिबार झरनाले विविध सम्मान समर्पण, पालिका अध्यक्षलाई प्रश्न कार्यक्रमको भिडियो प्रदर्शनी, कविता वाचन कार्यक्रम हुनेछ । महोत्सव आयोजनाका लागि गाउँपालिकाले ४ लाख ५० हजार रुपैैयाँ बजेट विनियोजन गरेको छ । बकैया गाउँपालिकाले कला सहित्य प्रतिष्ठान समेत गठन गरेको छ । २०५० साल फागुन १२ गते स्थापना भएको झरना साहित्यिक परिवारले विविध साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।