हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा ७ विकेटले विजयी हुँदै हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । समूह चरणको खेलहरुमा अपराजित यात्रालाई कायम राखेर ६ अंक जोडेको आधुनिक माविले तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा यात्रा तय गरेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा टस जितेर पहिलो ब्याटिङ गरेको हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीले १९ ओभर ४ बलमा ८९ रन बनाएर सबै विकेट गुमाएको थियो । हेटौंडा एकेडेमीबाट सौरभ चौधरीले १३ रन बनाएका थिए । कृशराज ठकुरी र राजाबाबु पटेलले समान १२–१२ रन बनाएका थिए । आधुनिकका प्रिन्स यादवले सर्वाधिक ४ विकेट लिएका थिए । रोशन यादव, राहुल यादव र दीपेश यादवले समान १–१ विकेट लिएका थिए ।
हेटौंडा एकेडेमीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आधुनिक राष्ट्रिय माविले १३ ओभर २ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । आधुनिकका आशीष अधिकारीले सर्वाधिक ३६ रन बनाएका थिए । प्रिन्स यादवले १७ रन र अभिनय यादवले १० रन बनाएका थिए । हेटौंडा एकेडेमीका लालबाबु अलि, इशान्त भण्डारी र एमडी असानले समान १–१ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच आधुनिकका प्रिन्स यादव घोषित भएका छन् ।
प्रतियोगिताअन्तर्गत् सोमबार दिउँसो १२ बजे फाइनल खेल हुनेछ । फाइनलमा आधुनिक राष्ट्रिय मावि र साविक विजेतासमेत रहेको भूटनदेवी माविबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।