हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले कृषियन्त्र १२ वटा कृषक समुहहरुलाई वितरण गरेको छ । आज बुधबार गाउँपालिकाले जोत्नका लागि प्रयोग गरिने मिनि ट्रिलर ५ थान, कोदो चुट्ने थ्रेसर ३ थान र मकै छोडाउने मेशिन ३ थान कृषक समुहहरुलाई वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।
गाउँपालिकाले कृषक समुहरुलाई ५० प्रतिशत अनुदानमा यान्त्रिकरण वितरण गरेको जनाएको छ । गाउँपालिकाले २ लाख ७५ हजारमा ५ थान मिनि ट्रिलर, कोदो चुट्ने मेशिन १ लाख ८० हजारमा ३ थान र मकै छोडाउने मेशिन ८० हजारमा ४ थान खरिद गरेर कृषक समुहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो ।