हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–२, अंगारेटोलमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा ६६ वर्षीय हेमन्त प्रसाद ढकाल र ६० वर्षीया सावित्री ढकाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार बेलुका ७ बजेर २० मिनेटको समयमा जंगली चितुवाको आक्रमणबाट दुवै जना सामान्य घाईते भएका थिए । घाइते दुवैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ लगिएको प्रहरीले जनाएको छ । स्थानीयहरुले चितुवालाई लखेट्ने क्रममा चितुवा भाग्दै जाँदा नजिक रहेको पुड्खेल खोलाको ग्याबिनवालमा ठोक्किँदा चितुवाको मृत्यु भएको प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय पालुङ मकवानपुरबाट वन कर्मचारीहरु समेत टोली खटी गई कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।