हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् बिहीबार भएको पहिलो खेलमा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको हेटौंडा–५ स्थित जीएस निकेतनले निर्धारित १५ ओभरको खेलमा ९ विकेट गुमाई ७६ रन बनाएको थियो । जीएस निकेतनको तर्फबाट जीवन श्रेष्ठले १५ रन जोडेका थिए । प्रियान्सु बिडारी र मुनाल यादवले समान १०–१० रन बनाए । हेटौंडा एकेडेमीबाट इसान्त भण्डारीले सर्वाधिक ४ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको हेटौंडा एकेडेमीले १२ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । एकेडेमीका लालबाबु अलीले सर्वाधिक ३० रन बनाएका थिए । सौरभ चौधरीले १५ रन जोड्न सफल भएका थिए । क्रिस ठकुरी र राजाबाबु पटेलले समान १२–१२ रन बनाए । म्यान अफ द म्याच हेटौंडा एकेडेमीबाट सर्वाधिक विकेट लिने भण्डारी घोषित भए ।

बिहीबार नै भएको दोस्रो खेलमा कमाने एकेडेमीे विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको तुल्सीमेहर बोर्डिङले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । तुल्सीमेहरबाट लक्की त्रिपाठीले सर्वाधिक २९ रन बनाएका थिए । कमानेबाट उत्सव सापकोटा, सृजन थापाले समान २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको कमाने एकेडेमीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । कमाने एकेडेमीबाट जोयल गुङले सर्वाधिक ४८ रन जोडे । रेयाज गुरुङले १२ रन जोडे । तुल्सीमेहरबाट विशाल साहिलले ४ विकेट लिए पनि हार टार्न सकेन । म्यान अफ द म्याच जोयर गुरुङ घोषित भएका छन् ।

बिहिबार नै भएको खेलमा हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशन एकेडेमीले हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिकालाई ८२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सेलिड्यारिटी बोर्डिङले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय ४८ रन जोड्न सफल भएको थियो । सेलिड्यारिटीको तर्फबाट पंकज पटेलले सर्वाधिक ५४ रन प्रहार गरेका थिए । अब्दुल वाजिदले ३० रन जोडेका थिए । जवाफी ब्याटिङ गरेको ज्ञानोदयले १२ ओभर ४ बलमा सबै विकेट गुमाएर ६६ रनमात्र जोड्न सफल भएको थियो । ज्ञानोदयबाट नासिर हुसेनले २५ रन बनाएका थिए ।